
बागलुङ / आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सहकार्य गरेका छन् । चुनावी सहकार्यमा बागलुङको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद अधिकारी र निर्वाचन क्षेत्र नं. २ मा नेकपाका ज्ञामनाथ गैरे अनिललाई साझा बाम उम्मेदवारका रुपमा अगाडि सारेका छन् ।
यी दुई कम्युनिष्ट घटकले आज संयुक्त पत्रकार सम्मेलन गरी सो को जानकारी गराएका हुन् । सो अवसरमा दुवै पार्टीका नेताहरुले राजनीतिक र ब्यक्तिगत स्वार्थमा मात्रै सहकार्य नभएको बताउदै जिल्लाको समग्र विकास, समृद्धी र शान्तिका लागि चुनावी सहकार्य गरिएको बताए । सहकार्यबाट निर्वाचित हुने उम्मेदवारले जिल्लाको बस्तुगत आवश्यकताका आधारमा कम्युनिष्ट एकताको आधार तयार गर्न जोड दिने, परिवर्तनकारी शक्तिको पक्षमा उभिने र समग्र जिल्लाको विकासको लागि सहकार्य गर्ने उल्लेख गरे ।

क्षेत्र नं. १ का उम्मेदवार अधिकारीले अवको निर्वाचनमा देश, संविधान र जनताले हार्न नहुने भएकोले बाम सहकार्य गरिएको उल्लेख गर्दै आफु निर्वाचित भएपछि शान्ति, समृद्धि र विकासको पक्षमा कार्य गर्ने बताए ।
नेकपाका केन्द्रिय सदस्य कृष्ण केसीले यो एकता स्वार्थमा केन्द्रित नभएको बताउदै मुलुकको समृद्धिका लागि निर्वाचनमा भोट किन्न र बेच्न खोज्नेलाई ठाउँका ठाउँ कारवाही गर्ने लाग्नुपर्नेमा जोड दिए । अर्का केन्द्रिय सदस्य चन्द्र वहादुर बुढा सागरले मुलुकको असहज र अस्थिर राजनैतिक परिस्थितिमा साम्राज्यवादी शक्तिहरुको योजनालाई परास्त गर्न बाम एकता आवश्यकता भएको औल्याए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तिलक थापाले जिल्लाको आवश्यकताका आधारमा चुनावी सहकार्य गरिएको बताउदै परिवर्तन चाहने शक्तिको विचमा बाम एकता गरिएको बताए । कार्यक्रमको सञ्चालन प्रकाश घर्तिले गरेका थिए ।





