बागलुङ/बागलुङ कालीका गुठी व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भूपेन्द्र खड्काले बुधबार पदभार ग्रहण गरेका छन् । गत भदौमा नियुक्ति भएपनि प्राविधिक कारणले उनी अध्यक्षको पदभरमा आएका थिएनन् ।
गुठी संस्थानमा नेतृत्वको अभावमा नियुक्त भएर पनि कामको जिम्मेवारी लिन ढीला भएकोमा गत माघ २ गते जिम्मेवारी आएपछि पदभार ग्रहण गरेको खड्काले बताए । हरेक ४ वर्षमा गुठीको अध्यक्षसहित समितिको हेरफेर हुने चलन छ ।
प्रसिद्व बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भइसकेपछि गत भदौमा बागलुङ नगरपालिका वडा नं. १ ले सस्थानमा पत्र पठाएको थियो । संस्थानको स्विकृतिपछि अध्यक्षसहित पदाधिकारी बन्ने प्रावधान छ । वडा अध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको सिफारिस पत्र अनुसार समिति गठन भइ सिफारिसका लागि आए अनुसारका पदाधिकारीले बुधबार कालीका मन्दिर प्रवेश गरी पुजा गरेका थिए ।
पदभार ग्रहणपछि खड्काले मन्दिर व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने, सटरमा बेचिने सामाग्रीको अनिवार्य मूल्यसूची राख्ने र आम उपभोक्तालाई सहज व्यवस्थापन गराउने प्रतिवद्दता जनाएका छन् । समितिको सचिवमा सचिन खड्का, कोषाध्यक्षमा अर्जुन खड्का, धु्रव खड्का, मनोज खड्का, भूपेन्द्र खड्का (धु्रव) र शिव खड्का चयन भएका छन् ।
वडा नं. १, मालपोत कार्यालय, गुठीयार र मन्दिरका मुल पुजारी समितिको पदेन सदस्य रहने व्यवस्था छ । यसअघि झण्डै दुइ कार्यकाल कुमार खड्का नेतृत्वको समिति थियो । वर्तमान समितिले मन्दिरको मौलिकता जोगाएर पर्यटक र धार्मिक भक्तजनको आर्कषणको केन्द्र समेत बनाउने लक्ष्य राखेको बताइएको छ ।





