
बागलुङ/नेकपा मसालको चुनावी मोर्चा ‘राष्ट्रिय जनमोर्चा’का अध्यक्ष चित्रबहादुर केसी ८४ वर्षका भए । अझैपनि उनको राजनीतिक जोश उत्तिकै छ । उनको भाषणले सामाजिक संजालदेखि राष्ट्रिय संचार माध्यम उत्तिकै चर्चामा आउने गर्छन् ।
मौलीक शैली र राजनीतिमा यथार्थ टिप्पणी गर्ने बानीले केसीलाई धेरैले मन पराउँछन् । केसीले संविधान निर्माणकै चरणदेखि संघियता विरुद्वको अभियान चलाए । नेपालमा संघियता थेग्न सकिंदैन भन्ने उनको मुख्य नारा रह्यो । संस्थागत रुपमा देशका प्रमुख दलहरु संघियताको पक्षमा देखिएपनि हरेक दलभित्र केसीको एजेण्डामा धेरै कार्यकर्ता सहमत छन् ।
२०५१ देखि राष्ट्रिय राजनीतिमा उदाएका केसीको २०५६ देखि निरन्तर संसदीय राजनीतिमा सक्रियता थियो । २०६४ को संविधानसभा, २०७० को संविधानसभा र गत २०७९ को संसदीय निर्वाचनमा केसी बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित थिए । अझैपनि केसीले चाहेमा अर्को उमेदवार अगाडि सर्ने स्थितीमा राजमो थिएन । तर फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा केसी उम्मेदवार भएनन । यो पटक केसीको क्षेत्रमा राजमोका केन्द्रीय सचिव कृष्ण अधिकारी उम्मेदवार छन् ।
अब भने संसदमा केसीको आवाज सुन्न नपाइने भएको छ । ‘धेरै वर्षसम्म केसीले संसदीय फाँटमा रहेर काम गर्नु भयो, अब नयाँ साथी आउनुभयो, केसीले घरायसी कारण देखाएर अगाडि आउन मान्नु भएन’ राजमो जिल्ला अध्यक्ष तेजबहादुर थापाले भने, ‘नयाँ साथीहरुलाई अवसर दिने निर्णयमा पुग्यौं ।’ पछिल्लो समय कार्यकर्तामा पनि नयाँ उम्मेदवारको खोजी भैरहेको थियो ।
केसीको जस्तै गर्विलो उपस्थिति भने अन्य उम्मेदवारको नहुने कतिपयले टिप्पणी गर्छन् । २०६४ को संविधानसभा निर्वाचनमा केसीले कांग्रेसका मणीभद्र शर्मा कँडेललाई पराजित गरेका थिए । झिनो मतले हारेका कँडेल केसीविरुद्व अदालत गएका थिए । तर राष्ट्रिय राजनीतिमा केसीको उपस्थितीलाई तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नै स्विकारेर मुद्दा फिर्ता गराएका थिए ।
केसीले पनि उमेरले नभइ घरायसी कारणले उमेदवार नबनेको बताए । ‘उमेरका कारण अयोग्य हुने कुरै छैन, मेरो पत्नी बिरामी भएकोले निस्कने समय मिलेन’ केसीले भने, ‘काम गर्न नसक्नेहरु बैसमा पनि अयोग्य हुन्छन् ।’ टिकाटिप्पणी गर्नेले मात्र चित्रबहादुर बुढो भयो, उमेरका कारण उठेन भनेको उनले टिप्प्णी गरे । ‘विपक्षीहरुसंग राजमोलाई कमजोर पार्ने एजेण्डा छैन, त्यसैले उमेरको कुरा गरेका हुन्’ उनले भने, ‘सुशासनको सवालमा राजमोमा कसैले प्रश्न उठाउन सक्दैन ।’
केसी राजनीतिमा आउनु अघि यहाँको गलकोट माविका प्रअ थिए । उनीसंगै नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल विज्ञानका शिक्षक थिए । तसर्थ नेपाली कम्युनिष्ट पार्टीले उक्त स्थानमा खनाल उठाउने चर्चा धेरै थियो । तर खनाल पनि एकाएक पछि हटे । पञ्चायतविरुद्व आन्दोलन छेडेका र भूमिगत रुपमा बसेको स्थानमा अहिले ती दुवै उम्मेदवार छैनन् ।
राजमोको राजनीतिमा बागलुङ, प्युठान लगायतका जिल्ला सबैभन्दा बढी चर्चामा आउने गर्छन् । २०४६ पछि २०७९ सम्म आइपुग्दा जिल्लाको राजनीतिमा राजमो भर्सेस अन्य दल हुन्थे । राजमोको मत उल्लेख्य रहेकोले अन्य दलको प्रतिस्पर्धामा कडा टक्कर पथ्र्यो । बागलुङ क्षेत्र नं. १ मा कांग्रेस बाहेकका अन्य दलले राजमोसंग प्रतिस्पर्धी भएर चुनाव कहिले पनि लडेनन् । गत निर्वाचनमा राजमोले कांग्रेस संगैको गठबन्धनमा भाग लियो । त्यतिबेला मात्रै एमाले प्रतिस्पर्धी भयो । केसीले २१ हजार ४ सय मत पाउँदा एमालेका सूर्य पाठकले १८ हजार ९ सय मत पाएका थिए । जहाँ रास्वपाले ९ हजार मत पायो । उक्त मतको अधिकांस हिस्सा कांग्रेसको भएको टिप्पणी हुन्छ । कांग्रेसले एकल लड्न खोजेकोमा केन्द्रको गठबन्धनका कारण राजमोलाई दिनुपर्दा मत बाडिएको कार्यकर्ताहरु बताउँछन् ।
पछिल्लो दिनमा निर्वाचन महंगो पनि बनेको छ । केसी कार्यकर्ताको मतबाट मात्र जित्न चाहन्छन् । पैसा खर्चन चाहदैनन् । नेपाली कम्युनिष्ट पार्टीले दुवै क्षेत्रमा तत्कालिन माओवादीका उम्मेदवार बनाएकोमा मंगलबार बिहान पत्रकार सम्मेलन गरेर क्षेत्र नं. १ मा राजमोका कृष्ण अधिकारीलाई छाड्ने र क्षेत्र नं. २ मा राजमोले छाडेर नेकपाका ज्ञाननाथ गैरेलाई साथ दिने निर्णय गरेको छ । गैरे भूमिगत राजनीतिदेखि आएका नेकपाका केन्द्रीय सदस्य समेत हुन् भने अधिकारी राजमोका केन्द्रीय सचिव हुन् ।





