म्याग्दी/जिल्लाको धवलागिरी गाउँपालिकामा श्रीमतीको हत्या गरी फरार भएका एकजना पोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–२३ ठुलाखेत स्थायी घर भई हाल सिर्जनाचोक बस्दै आएका ३२ वर्षका प्रेम भन्ने रमेश कामी रहेका छन् । कामीलाई प्रहरीले पोखरा–१७ बिरौटाबाट नियन्त्रणमा लिएको हो । उनीमाथि धवलागिरी–७ धारापानी माइती भएकी २० वर्षीया श्रीमती पुनमाया विकको हत्यामा संलग्न रहेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दी, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उनलाई माघ ४ गते राती पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । उनले पोखराबाट बागलुङको ढोरपाटन हुँदै म्याग्दीको धवलागिरी–७ धारापानीस्थित श्रीमतीको माइती घर पुगेर घरभन्दा केही माथि लुकेर बसेको बयान दिएका छन् । माघ ३ गते राती पौने ११ बजेतिर श्रीमती पिसाब फेर्न बाहिर निस्केको समयमा उनले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।
माघ ३ गते राति ११ बजेतिर घरबाहिर निस्केको अवस्थामा अज्ञात व्यक्तिले हतियार प्रहार गरी घाइते बनाएको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते पुनमायालाई उपचारका लागि प्रदेश अस्पताल म्याग्दी बेनी पु¥याइएकोमा उपचारकै क्रममा माघ ४ गते राती चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको अनुसन्धान गर्ने क्रममा मृतकका श्रीमानको संलग्नता खुलेपछि प्रहरीले खोजी तीब्र पारेको थियो । पक्राउ परेका कामीको साथबाट घटनाको समयमा लगाएको रगत जस्तो रातो दाग देखिने १ थान कम्ब्याट ज्याकेट, १ थान रेडमी मोबाइल तथा एनसेल र एनटिसीको १÷१ थान सिमकार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक गोविन्द सुवेदीले जनाएका छन् ।
आरोपी कामीबिरुद्ध मंगलबार ज्यान सम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





