आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा हिरा केसी जिताऊँ अभियान सुरु

बागलुङमा हिरा केसी जिताऊँ अभियान सुरु

१ हजार १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन, जेनजीसंग अन्तर संवादको जिम्मेवारी स्ववियु सभापतीलाई


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८२, शनिबार
फाईल फोटो

बागलुङ / नेकपा एमाले बागलुङले निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनमा हिरा वहादुर केसी जिताऊँ अभियान सञ्चालन गरेको छ । निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय समन्वय कमिटीको बैठकले हिरा केसी जिताऊ अभियान सञ्चालन गर्ने निर्णयसहित अभियान सुरु गरेको हो । पार्टीको उम्मेदवार केसीलाई जिताऊँ अभियान सञ्चालन गर्ने निर्णयसहित एक महिने कार्ययोजना निर्माण गरी कार्यक्रम सुरु गरिएको क्षेत्रिय संयोजक धन बहादुर परियारले बताए ।

अभियानलाई व्यवस्थित रुपमा अगाडि बढाउन पार्टीका केन्द्रिय सदस्य सुर्य पाठकको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरिएको छ ।
कमिटीको सदस्य सचिवको जिम्मेवारी जिल्ला सचिव गणेश थापाले पाएका छन् । निर्वाचन मुल परिचालन समितिमा पार्टीका निवर्तमान केन्द्रिय सदस्य, सल्लाहकार परिषद सदस्य, भूगोलभित्रका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला र पालिका कमिटीका पदाधिकारी र सदस्यहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु, वडा कमिटीका पदाधिकारीहरु, जनवर्गिय संगठनका केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु रहेको सदस्य सचिव थापाले जानकारी दिए ।

निर्वाचनमा जेनजी युवाहरुका बीच अन्तरसम्वाद गरी प्रचार अभियानलाई व्यवस्थित बनाउन धौलागिरी बहुमुखी क्याम्पसका स्ववियू सभापति आस्मिन शेखलाई जिम्मेवारी दिइएको छ । मुष्लिम समुदायबाट प्रतिनिधित्व गर्ने शेख धौलागिरी बहुमुखी क्याम्पसको पहिलो महिला स्ववियू सभापति हुन् । शेख सभापति रहेको यही क्याम्पसका पूर्व स्ववियू सभापति केसी एमालेका उम्मेदवार हुन् ।

बैठकले निर्वाचनमा युवा परिचालनको संयोजन गर्ने र निर्वाचनलाई निष्पक्ष, भयरहित, प्रभावकारी र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग गर्न सबै वडा तथा टोल टोलमा सुुरक्षा दस्ता निर्माण गरी परिचालन गर्नका लागि जिल्ला सचिवालय सदस्य बाबुलाल शाक्यलाई जिम्मेवारी दिइएको छ । युवाहरु संगठित यो समितिले स्थानीय स्तरमा केसी जिताऊँ अभियानको संयोजन गर्ने एमालेले जनाएको छ ।

हिरा जिताऊँ अभियानलाई नेतृत्व प्रदान गर्ने गरी निर्वाचन परिचालन, अनुगमन र सुझावका लागि पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य मन कुमारी केसीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु लिल बहादुर थापा मगर, सूर्य पाठक, गोविन्द नेपाली र सावित्रा राना, निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र कृष्ण केसी, पूर्व जिल्ला अध्यक्षहरु जनक पौडेल र श्रीप्रसाद शर्मा, संविधानसभा सदस्य नर बहादुर थापा र गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक रहेको उच्च स्तरीय निर्देशक कमिटी गठन गरेको सचिव थापाले बताए ।

निर्वाचनमा चार वटा पालिकाको संयोजन गर्नका लागि बागलुङ नगरपालिकामा प्रदेश कमिटी सदस्य ध्रुव बहादुर केसी संयोजक र नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्मा सदस्य सचिव, काँठेखोला गाउँपालिकामा प्रदेश कमिटी सदस्य अमर बहादुर थापा संयोजक र पालिका कमिटी अध्यक्ष डिल बहादुर कार्की सदस्य सचिव, जैमिनी नगरपालिकामा प्रदेश कमिटीका सचिवालय सदस्य लिला राना संयोजक र पालिका कमिटी अध्यक्ष देवेन्द्र रेग्मी सदस्य सचिव, बरेङ गाउँपालिकामा प्रदेश कमिटी सदस्य सञ्जाल शर्मा संयोजक र पालिका कमिटी अध्यक्ष झोम बहादुर थापालाई सदस्य सचिवको जिम्मेवारी दिएको छ ।

निर्वाचनको प्रचार प्रसारका लागि प्रेस चौतारी बागलुङ शाखालाई संयोजनको जिम्मेवारी दिइएको संयोजक परियारले बताए । पार्टीका जनसंगठनहरुलाई समन्वय गरी परिचालन गर्नका लागि जिल्ला सचिवालय सदस्य नेत्र बिष्टलाई र क्षेत्रीय निर्वाचन परिचालन सम्पर्क कार्यालय व्यवस्थापनको जिम्मेवारी कार्यालय सचिव चन्द्रमणी उपाध्यायलाई दिइएको छ । जिल्ला उपसचिव तथा क्षेत्रीय समन्वय कमिटिका संयोजक धन बहादुर परियारलाई जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायत सरोकारवाला कार्यालयहरुसंग समन्वयको जिम्मेवारी तोकिएको छ ।

पार्टीले सञ्चालन गरेको हिरा जिताऊँ अभियान शनिवारदेखि नै सुरु गरिएको छ । अभियान अन्तरग शनिवार बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बैठक बसेको छ भने आजै रामरेखाबाट उम्मेदवारसहितको भेटघाट कार्यक्रम सुरु गरिने निर्वाचन परिचान मुल समितिका संयोजक पाठकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->