पोखरा /राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आज मतदान हुँर्दैछ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नयाँ मतभारका आधारमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षले मतदान गर्नेछन्।
निर्वाचनका लागि गण्डकी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक कर्मचारी र सुरक्षाको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय पाेखराका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताए । उनका अनुसार निर्वाचन कार्यालय हातामै दुई वटा केन्द्र स्थापना गरिएको छ । जसमध्ये एउटा केन्द्रमा ५९ जना प्रदेश सभा सदस्यहरूले मतदान गर्नेछन् भने अर्को केन्द्रमा १६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
२०७६ सालमा निर्वाचित सदस्यहरूको ६ वर्षे कार्यकाल आगामी फागुन २१ मा सकिने भएपछि नयाँ सदस्य छनोटका लागि यो प्रक्रिया सुरु गरिएको हो । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने तत्कालीन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी भगवती न्यौपानेको पदावधि सकिँदै छ । उनीहरूको स्थानमा नयाँ राष्ट्रिय सभा सदस्यका लागी निर्वाचन निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा गण्डकी सहित देशैभर नेपाली कांग्रेस र नेकपा एमालेले साझा उम्मेदवार उठाएका छन् । गण्डकीमा एमालेबाट महिला क्लस्टरमा गा्ेरखाकी नेतृ सम्झना देवकोटाको उम्मेदवारी परेको छ । यसैगरी खुलातर्फ नेपाली कांग्रेसले प्रा. डा. जगत् तिमिल्सिनालाई उठाएको छ । उनी तनहुँका हुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले महिला कलष्टरमा नेकपाकी गोमा लुइँटेल घिमिरे र खुलाबाट कपिल लामालाई चुनावी मैदानमा उतारेको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले पनि खुलामा शंकरप्रसाद बराल र महिलामा अधिवक्ता लक्ष्मी बाँस्कोटालाई अघि सारेको छ ।
३ बजे बजे मतदान सकिएलगत्तै गणना सुरु गरिने र साँझसम्म परिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ । ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता छन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ पुगेको छ ।





