आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पञ्चकोटको आशीर्वाद लिएर सुरु गरे प्रकाश सपुतले चुनावी यात्रा

पञ्चकोटको आशीर्वाद लिएर सुरु गरे प्रकाश सपुतले चुनावी यात्रा

बागलुङका दुई छोराहरूले भ्रष्टाचार, कुशासन र कुरीति विरुद्धको जालो तोड्ने प्रतिबद्धता


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०८२, शनिबार

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार कलाकार प्रकाश सपुतले गृह जिल्ला बागलुङबाट आफ्नो चुनावी यात्रा सुरु गरेका छन् । जिल्लाको महत्वपूर्ण धार्मिक स्थल पञ्चकोटधाममा पुगेर शनिवारदेखि चुनावी यात्रा सुरु गरेका हुन् । उनी काठेखोला गाउँपालिका-३ धम्जाका स्थायी बासिन्दा हुन् ।

यहाँको महत्वपूर्ण धार्मिक स्थल पञ्चकोटधाममा रहेको ५ हजार ५ सय ५५ किलोको महाघण्ट बजाई आफ्नो चुनावी यात्रा सुरु भएको प्रकाशले बताए । ‘औपचारिक रुपमा पञ्चकोटको आशीर्वाद लिएर मेरो चुनावी यात्रा शुरु भयो, उनले भने, अब देशव्यापी रुपमा यो अभियानमा पुग्छु ।’

उनले आजै पञ्चकोटधाममा रहेको ५ हजार ५ सय ५५ किलोको महाघण्टअघि कालो पोशाक लगाएर खिचिएको आफ्नो तस्विर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

जिल्लामा सञ्चालित आठौं बागलुङ महोत्सवमा गत पुस १९ गते यहाँ आएर दर्शकलाई नचाएका कलाकार प्रकाशले आज बरिष्ठ नेता बालेन शाहको शैलीमा आफ्नो तस्विर सार्वजानिक गर्नुलाई धेरैले नयाँ नक्कल भनेका छन् ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले राजनीतिक स्थायित्व र स्थिर सरकार बनोस् भन्ने आफ्नो सपना र लक्ष्य पुरा गर्न आफु नयाँ यात्रामा निस्केको बताए । अब उनले बागलुङ-१ का रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार सुशील खड्कालाई भोट माग्दै पश्चिम बागलुङको २ नम्बर क्षेत्रमा पुग्ने बताए ।

उनले फेसवुकमा आफ्नो फोटो शेयर गर्दै खड्कालाई शुभकामना समेत दिएका छन् । उनले फेसवुकमा लेखेका छन्-‘राजनीतिक अस्थिरताको अन्त्य भएर, स्थिर सरकार बनोस भन्ने सपना र लक्ष्य त पुरानै हो तर यो यात्रा भने नयाँ-नयाँ । गृहजिल्ला बागलुङ क्षेत्र नं.१ पन्चकोटमा रहेको ५ हजार ५ सय ५५ किलोको घन्टी, यस क्षेत्रका प्रत्यक्ष उम्मेदवार युवा Sushil Khadka ज्युलाई धेरै-धेरै शुभकामना🔔’

यसैविच, रास्वपाका प्रत्यक्ष उम्मेदवार सुशील खड्काले कलाकार प्रकाश सपुतको आगमनले आफुमा थप उर्जा प्राप्त भएको बताएका छन् । उनले भ्रष्टाचार, कुशासन र कुरीति विरुद्ध देशभरी घण्टी बज्ने सङ्खघोष समेत गरेका छन् । उनले बागलुङका दुई छोराहरूले भ्रष्टाचार, कुशासन र कुरीति विरुद्धको जालो तोड्ने प्रतिबद्धता पनि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसवुकमा प्रकाशसंगैको फोटो सार्वजानिक गर्दै खड्काले भनेका छन- ‘मेरो अनन्य मित्र प्रकाश सपुतको आगमनले थप ऊर्जा प्राप्त भएको छ। भ्रष्टाचार, कुशासन र कुरीति विरुद्ध देशभरि घण्टी बज्ने सङ्खघोष पञ्चकोटबाट गर्दैछौं। दुई बागलुङका छोराहरूले यो जालो तोड्ने प्रतिबद्धता जनाउन चाहन्छौं। जय घन्टी 🔔🔔🔔’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->