काठमाडौं / नेकपा (एमाले)का केन्द्रिय सदस्य कल्पना थापाले पार्टी पंक्तिलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन आब्हान गरेकी छन् । शनिवार बागलुङ – काठमाडौं सम्पर्क कमिटीले काठमाडौंमा आयोजना गरेको निर्वाचित केन्द्रित विस्तारित भेलालाई सम्बोधन गर्दै थापाले अबको सम्पर्क कमिटीको काम निर्वाचित केन्द्रित हुने र राजधानीमा भएका मतदातालाई जिल्लामा पठाउन भूमिका खेल्नुपर्ने बताईन ।
उनले निर्वाचन क्षेत्र नं. १ मा हिरा बहादुर केसी र निर्वाचन क्षेत्र नं. २ मा मञ्जु शर्मा चालिसेलाई विजयी गराउन सवै फिल्डमा नै पुगेर लाग्नुपर्ने बताईन् । अहिलेको निर्वाचन देश बनाउने र जलाउने विचको प्रतिस्पर्धा भएको बताउदै उनले मुलुकको समृद्धि र विकासको लागि एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिईन । राष्ट्र, राष्ट्रियता र मुलुकको सार्वभौमिकताको रक्षाका लागि एमालेको विकल्प नरहेको उल्लेख गर्दै पार्टीभित्रका साना मसिना विषयमा नअल्झिन कार्यकर्तालाई निर्देशन दिईन् ।
सो अवसरमा सम्पर्क समन्वय विशेष कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीले बागलुङ जिल्ला बामपन्थीको किल्ला भएको स्मरण गर्दै आसन्न निर्वाचनमा जिल्लाका दुवै क्षेत्रमा एमालेको जीत सुनिश्चित गर्न काठमाडौंमा रहेका मतदाता र कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने बताए ।

जिल्ला सम्पर्क कमिटीका अध्यक्ष ओम वहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी सम्पर्क कमिटीका अध्यक्ष राजेन्द्र आचार्य, उपाध्यक्ष पदम गिरी, पार्टीका प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, गण्डकी सम्पर्कका सदस्य अर्जुन सापकोटा, कृष्ण जिसी, धु्रव कार्की, दलविर भण्डारी, दिपक शर्मा, उमेश भण्डारी, कृष्ण खड्का, सुशिल ढुंगाना, उमेश सिर्पाली लगायतले निर्वाचनको तयारी, कार्यकर्ताको भूमिका र परिचालन कमिटी गठन लगायतका विषयमा बताएका थिए ।
भेलाले जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन क्षेत्र न.१ मा पदम गिरीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको सचिव कृष्ण खड्काले बताए । सो कमिटीको सहसंयोजक ओम केसी र सचिव कृष्ण खड्का रहेका छन् । सदस्यहरुमा जनवर्गिय संगठन र पालिकाका संयोजक तथा सदस्यहरु रहेका छन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा दलविर भण्डारीको संयोजकतवमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । सो कमिटीको सहसंयोजकमा उमेश सिर्पाली र सचिवमा विष्णु घिमिरे रहेका छन् । सदस्यहरुमा जनवर्गिय संगठन र पालिकाका संयोजक तथा सदस्यहरु रहेका छन् । भेलाले निर्वाचन समबन्धि अन्य कार्ययोजना समेत निर्माण गरेको अध्यक्ष केसीले बताए ।





