स्याङ्जा/ आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जादाँ जिल्लामा एउटै बैंकका २ पूर्व अध्यक्ष बीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गरेका नेकपा एमालेका मिनप्रसाद गुरुङ र नेपाली कांग्रेसबाट उम्मेदवार रहेका भरतराज ढकाल मुक्तिनाथ बैंकका पूर्व अध्यक्ष हुन् । ढकाल सोही बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइयो) समेत हुन् ।
यो निर्वाचन क्षेत्रमा रास्वपा, नेकपा सहित अन्य दल र स्वतन्त्र गरेर १२ प्रतिस्पर्धा रहेकोमा दुई बैङकर बिचको प्रतिस्पर्धालाई रोमाञ्चक ढंगले हेरिएको छ । २०६३ साल पुस १९ गते मुक्तिनाथ विकास बैंक स्थापना हुँदा २९ जना संस्थापक मध्ये ढकाल र गुरुङ सँगै थिए । ढकालले बैंक खुलेसँगै १२ बर्ष सम्म सिइयो र ०७६ बाट ०८० सम्म अध्यक्ष भएर एक कार्यकाल काम गर्नु गरेका थिए ।
एमबीए सम्मको अध्ययन गर्नु भएका ढकाल मुक्तिनाथ विकास बैंकको अध्यक्ष छोडेसँगै मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीको अध्यक्ष रहेका थिए । ढकाल नेपाल विद्यार्थी संघ हुदै नेपाली काग्रेस वित्तिय तथा सहकारी विभागको केन्द्रिय सदस्य रहेका छन् । कुनैबेला पत्रकार समेत रहेका ढकालले नयाँ खबर साप्ताहिक सञ्चालन गरेका थिए भने पाल पत्रकार महासंघको स्याङजाको संस्थापक सदस्यसमेत रहेका थिए । ढकाल पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन् ।
यस्तै एमाले उम्मेदवार गुरुङ मुक्तिनाथ विकास बैंकको ०७२ देखि ०७४ सम्म अध्यक्ष बनेका थिए । उनी २०७४ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को क बाट प्रदेश सांसदमा निर्वाचित भए पछि बैंकको अध्यक्ष छाडेका थिए । एमए अध्ययन गरेका गुरुङ २०३६ सालमा अनेरास्ववियु पाँचौ स्याङजाको सस्थापक अध्यक्ष बनेका थिए । एमाले गाउँ कमिटी सचिव हुदै जिल्ला कमिर्टी अध्यक्ष र अहिले प्रदेश उपाध्यक्ष रहेका गुरुङ प्रदेशसभामा एक कार्यकाल अनुभव सम्हाले पनि संघीय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धामा रहेका हुन् ।
यहाँ मुख्य गरेर काग्रेसका ढकाल, एमालेका गुरुङलाई रास्वपाका डा धनन्जय रेग्मी र नेकपाका शैलेन्द्र घिमिरे प्रतिस्पर्धी रहेपनि रोमाञ्चक प्रतिपर्धा भने एकै बैंकका २ पूर्व अध्यक्षबीच देखिएको छ । यस अघिका निर्वाचनमा यस क्षेत्रमा काग्रेस र एमालेले नै जित्दै आएका छन् । यस निर्वाचन क्षेत्रमा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन् ।





