सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धादिङ बस दुर्घटनाः १९ को मृत्यु, ९ को सनाखत

धादिङ बस दुर्घटनाः १९ को मृत्यु, ९ को सनाखत


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ११ २०८२, सोमबार

पोखरा/  धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ भैँसीगौडास्थित पृथ्वी राजमार्गमा सोमबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीको किनारमा खसेको थियो । दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।  घाइतेमध्ये १४ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ । एक जनाको भने मलेखुमै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसमा चालकसहित जम्मा ४४ जना यात्रु सवार थिए । जसमा २९ जना पुरुष र १५ जना महिला थिए ।

दुर्घटनामा मृत्यु हुने १९ जनामध्ये ९ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरूमा बेलायती नागरिक २४ वर्षीय स्टुअर्ट डोमिनिक इथान, पोखरा महानगरपालिका–३० बस्ने ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाको वालिङ १४ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका ६ बस्ने ६३ वर्षीय चन्द्र बहादुर कुँवर रहेका छन् ।

त्यस्तै, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, धादिङको साविक सल्यानकोट ८ हाल त्रिपुरासुन्दरी गाउँपालिका ४ का ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँको शुक्ला गण्डकी गाउँपालिका ७ मालेबगरकी ५५ वर्षीया विष्णु माया ढकाल र काठमाडौँ महानगरपालिका ६ बौद्ध टुसालका ४२ वर्षीय लोप्साङ गोलेको पनि मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका ६ का ४५ वर्षीय हरि प्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका २ का ५५ वर्षीय नविन्द्र श्रेष्ठले पनि सोही दुर्घटनामा ज्यान गुमाएका छन् ।  मृत्यु हुने अन्य १० जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

दुर्घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र बेनीघाटका प्रहरी टोली उद्धारमा खटिएका थिए । उद्धार कार्यमा नेपाली सेनाको भैरव गण गजुरी, सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका गोताखोर र स्थानीय बासिन्दाले समेत सहयोग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->