सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मौन अवधि सुरु, प्रचार पूर्ण रूपमा निषेध

मौन अवधि सुरु, प्रचार पूर्ण रूपमा निषेध

मौन अवधिका वेला आचारसंहिताविपरीतका कार्य भएमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार अधिकतम दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८२, मंगलबार

पोखरा / सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि भनेको यस्तो समय हो, यति वेला दल तथा उम्मेदवारको पक्षमा कुनै पनि प्रकारका प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई स्थिर (मौन) समय भनिएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि अर्थात् सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनका अनुसार मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइनेछैन ।

मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्नेछ । बिहीबार (२१ फागुन) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

भण्डारीले उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पनि पूर्ण रूपमा हटाउनुपर्ने बताए । सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पनि नपाइने उनको भनाइ छ ।

‘कुनै पनि विधि, प्रकारले मत माग्न पाइँदैन । सामाजिक सञ्जाल, अनलाइन, छापाबाट उम्मेदवारको पक्ष वा विपक्षमा सूचना सन्देश सम्प्रेषण गर्न पाइँदैन । पक्ष-विपक्षमा लाइक, कमेन्ट र सेयरजस्ता प्रचारका कुनै क्रियाकलाप गर्न पाइँदैन,’ उनले भने ।

कार्यवाहक आयुक्त भण्डारीले मतदानको तीन घण्टाअघिदेखि मतदान समाप्त नभएसम्म मतदान केन्द्रमा खटिएका व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी कुनै काम गर्न नपाइने पनि बताए । ‘मतदान केन्द्र रहेको घर, भवन वा सोस्थल वरिपरि असर पर्ने गरी शान्ति भंग गर्ने वा भय त्रास पैदा हुने गरी निर्वाचन वातावरण बिथोल्न पाइँदैन । मतदानस्थल वरिपरि साउन्ड सिस्टम राख्न र ठुलो स्वरले बजाउन पाइँदैन । बाजागाजा बजाउने, नाचगान, भोजभतेर गर्ने, जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न पाइँदैन,’ उनले भने ।

अनुगमन अधिकृतलाई निर्देशन
आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृतलाई सूक्ष्म अनुगमन गर्न निर्देशन दिएको छ । आयोगले सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक प्रमुखलाई फरक–फरक कार्य जिम्मेवारीसहित अनुगमन अधिकृत तोकेको छ । अनुगमन अधिकृतलाई आयोगले मौन अवधिमा आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न निर्देशन दिएको प्रवक्ता नारायण भट्टराईले बताए ।

उनका अनुसार निर्वाचन आचारसंहिताको दफा १७ मा ‘मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण र दफा १८ मा मतदानको दिन पालना गर्नुपर्ने आचरण परिपालनाको सम्बन्धमा अनुगमन गरी उक्त व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन आफ्नो जिल्लाभित्र सूक्ष्म अनुगमन गर्न’ निर्देशन दिइएको छ ।

त्यस्तै, आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐनविपरीतका कार्य गरेको पाइएमा जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा अनुगमनकर्ताको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन निर्देशन दिइएको छ । ‘जिल्लामा अनुगमन संयन्त्र छ । मौन अवधिमा आचार–संहिताविपरीतका क्रियाकलाप हुन नदिन र गर्नेउपर निगरानी राख्न अनुगमन अधिकृतको टोलीलाई थप निर्देशन दिइएको छ,’ उनले भने ।

घुम्ती टोली परिचालन
मौन अवधिमा दल र उम्मेदवारको गतिविधि निगरानी तथा आचारसंहिता पालना गराउन ७७ वटै जिल्लामा घुम्ती टोली परिचालन गरिएको छ । आयोगका अनुसार प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकायसँग समन्वय गरी सूक्ष्म अनुगमन गर्न टोलटोलमा घुम्ती टोली परिचालन गरिएको हो ।

कार्यवाहक प्रमुख आयक्त भण्डारीले सहायक सिडिओको नेतृत्वमा आचारसंहिता अनुगमन समितिको टोली, निर्वाचन अधिकृत तहबाट छुट्टै र सुरक्षा निकायले आफ्नो संयन्त्र परिचालन गरेर निगरानी गरिरहेको बताए । ‘प्रमुख जिल्ला अधिकारीले सबै सरोकारवालासँग समन्वय गरेर घुम्ती टोलीहरू आवश्यकताअनुसार परिचालन गरेका छन् । सूक्ष्म अनुगमन गर्न हाम्रो अनुगमन अधिकृत पनि परिचालित छन्, सूचना संकलन गरिरहेका छन्,’ उनले भने ।

के हुन्छ कारबाही ?
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आचारसंहिता पूर्णपालना गराउन निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, प्रहरी प्रशासन सबैलाई निर्देशन जारी गरिसकेको बताए । मौन अवधिका वेला आचार–संहिताविपरीतका कार्य भएमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही हुने र निर्वाचनलाई असर गर्ने खालका गतिविधिहरू भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही हुने भण्डारीले बताए । निर्वाचन कसुर सजाय ऐनमा अधिकतम दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सीमानाका पनि बन्द
निर्वाचनको सुरक्षालाई केन्द्रित गरेर सोमबार रातिदेखि नेपाल भारत सीमानाका पनि बन्द गरिएको छ । नेपालका २७ जिल्ला भारतसँग सीमा जोडिएका छन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमानाका बन्द गरिएको बताए । मतदान सकिएको दिन राति १२ बजेपछि मात्रै सीमानाका खुला गरिनेछ ।

आयोगले मौन अवधिमा मदिरा बिक्री, वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा सात दिनअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरिएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए ।

४८ घण्टा चुपचाप ! 

– दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठीलगायत कुनै पनि विधिबाट मत माग्न र निर्वाचन प्रचार गर्न नपाइने
– उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पनि पूर्ण रूपमा हटाउनुपर्ने
– सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न नपाइने
– मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचार–प्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्ने
– मतदानस्थल वरिपरि साउन्ड सिस्टम राख्ने, बाजागाजा बजाउने, नाचगान, भोजभतेर गर्ने, जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा–समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न नपाइने
– मौन अवधिका वेला आचारसंहिताविपरीतका कार्य भएमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार अधिकतम दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->