बागलुङ / बागलुङ कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै मतदान गर्ने भएका छन् । जिल्लामा दुई वटा अस्थायी मतदान स्थल निर्धारण गरी कैदीवन्दी र कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाइएको हो । उनीहरुले समानुपातिकतर्फ मात्रै मतदान गर्ने छन् ।
१०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा दुई अस्थायी मतदान स्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिकतर्फ मत राख्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
बागलुङ कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जनालाई कारागारभित्रै भोट हाल्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले बताईन ।
‘राज्यले विभिन्न मुद्दामा कारागारमा सुधारको जीवन बिताइरहेका नागरिकलाई मतदानको अधिकार दिन खोजेको हो’, मुख्य निर्वाचन अधिकृत अधिकारीले भनिन्, ‘उहाँहरुसंग भएको मतदाता परिचयपत्रका आधारमा कारागारभित्रै समानुपातिक मत जाहेर गर्ने व्यवस्था मिलाइएको छ ।’

कार्य व्यस्तताका कारण आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न नसक्ने कर्मचारीलाई समानुपातिकतर्फ मत राख्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
जिल्लाको सुरक्षा संवेदनशिलता, मतदाताको संख्या घटबढ तथा पायक पर्ने स्थान लगायतका कारण एक मदतान स्थल थप गरेको र एक मतदना केन्द्र घटाएर १०७ मतदानस्थल र २३० स्थायी मतदान केन्द्र कायम गरिएको छ । दुई मतदानस्थललाई स्थानान्तरण गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा १ लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार चुनावी मैदानमा छन् ।





