सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सामुदायिक सेवा केन्द्रद्वारा सीसी क्यामेरा हस्तान्तरण

सामुदायिक सेवा केन्द्रद्वारा सीसी क्यामेरा हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार

पोखरा/लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रले शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यका साथ डाँडाको नाक प्रहरी कार्यालयलाई सीसी क्यामेरा हस्तान्तरण गरेको छ । शनिबार आयोजित एक कार्यक्रमबीच सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनालले डाँडाको नाक प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ. (डिएसपी) गुणराज बुढाथोकीलाई तीन वटा सीसी क्यामेरा हस्तान्तरण गरेकी हुन् ।

विकृति र विसङ्गतिरहित समाज निर्माण गर्ने अभियानअन्तर्गत सेवा केन्द्र स्थापना गरिएको बताइन्। उनले सीसी क्यामेरा जडानले यस क्षेत्रमा हुने सवारी दुर्घटना तथा ट्राफिक समस्याको व्यवस्थापनमा सहयोग पुग्ने, साथै चोरी–डकैती जस्ता आपराधिक गतिविधि पत्ता लगाउन र शान्ति सुरक्षा कायम गर्न सहज हुने अध्यक्ष खनालले बताइन् ।

डाँडाको नाक प्रहरी कार्यालयका प्रमुख डिएसपी गुणराज बुढाथोकीले सामुदायिक सेवा केन्द्रलाई धन्यवाद दिँदै वर्तमान समयमा सीसी क्यामेरा समाजको ऐना जस्तै भएको बताए । उनले लेखनाथ क्षेत्रको प्रमुख व्यापारिक केन्द्र तालचोकमा हुने विभिन्न गतिविधि तथा घटनाको अनुसन्धानमा सीसी क्यामेराले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रविधिको प्रयोगबाट दुर्घटना, चोरी तथा अन्य आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।

सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरीले विगतमा पनि यस क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको स्मरण गर्दै सडक निर्माण कार्यका कारण क्षतिग्रस्त भएकाले पुनः तालचोक क्षेत्रमा नयाँ क्यामेरा जडान गरिएको जानकारी दिए। उनले यसले क्षेत्रको शान्ति सुरक्षालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

यसै अवसरमा सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनाल विशेष परिस्थितिका कारण लामो समयका लागि विदेश जाने कार्यक्रम भएकाले संस्थाका सह–सचिव कृष्ण रिजाललाई कार्यवाहक जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सदस्य गोपिचन्द्र वाग्ले र सह–सचिव कृष्ण रिजालले संयुक्त रूपमा सञ्चालन गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेवी, प्रहरी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सल्लाहकार, पत्रकार तथा ट्याक्सी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->