पोखरा/ कास्कीको राजनीतिक क्षेत्रमा बिहीबार एउटा अकल्पनिय घटना भयो । कार्यकर्ताको भीडमा ऊर्जा भर्ने, स्पष्ट वक्ता र हक्की स्वभावका धनी नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईन्चार्ज कृष्ण थापाको अप्रत्यासित निधन भयो ।
निर्वाचनको हार–जितको समीक्षा भइरहेको एउटा कार्यक्रम, जहाँ उनी पार्टीलाई सुधार्ने, एकताबद्ध भएर जाने योजनाका कुरा गर्दै थिए, त्यही कार्यक्रमस्थल नै उनको जीवनको अन्तिम सम्बोधनको थलो बन्न पुग्यो ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि कास्की एमाले निकै स्तब्ध थियो । आफ्नो गढ कास्कीका तीनवटै क्षेत्रमा व्यहोर्नुपरेको अप्रत्याशित हारको समीक्षा गर्न बिहीबार क्षेत्र नम्बर १ को कार्यक्रम आयोजना गरिएको थियो । निर्वाचनको नतिजा र रास्वपाको उदयबारे गम्भीर विश्लेषण गरेर सिटमा बस्न नपाउँदै थापा अचानक ढले ।
तत्कालै उनलाई मणिपाल शिक्षण अस्पताल पु¥याइयो । तर, नियतिले उनलाई पर्खिएन । दिउँसो ३ः३७ बजे चिकित्सकले उनलाई मृत घोषणा गर्दा अस्पताल परिसरमा रहेका नेता–कार्यकर्ताका आँखा ओभानो हुन सकेनन् ।
टिकाराम पंगेनी, जो २०४३ सालमा कृष्ण थापा कास्की अखिलको अध्यक्ष हुँदा सदस्य थिए । दुई कार्यकाल थापासंगै काम गरे । आफ्नै अगाडि कृष्ण थापा ढलेको दुखद क्षणको साक्षी बन्नुपर्दा यतिबेला पंगेनी निःशब्द र बेचैन छन् । आफु पार्टीको संगठित सदस्यमात्र भएकाले कार्यक्रममा बोल्न पाउने कुरा थिएन । तर उनलाई निर्वाचनका विषयमा केही कुरा गर्ने मन थियो । औपचारिक कार्यक्रम सकिएपछि पंगेनी केही कुरा राख्न भन्दै थापा भएतिर लागे ।
हात मिलाए । ‘मैले हात मिलाउँदै केही कुरा राख्छु भन्दै थिए, उहाँले अतनी भन्नु भयो’, पंगेनीले भने, ‘एत्तिकैमा उहाँको आवाज घुरेर आयो । शिर निहुरियो, ५/७ पटक सिपिआर गरे । जुत्ता खोलिदिए । हातमा स्पर्ष गरे । पिसाव पनि फेर्नु भयो, मुखबाट पानी पनि निस्किएपछि म आत्तिए । साथीहरुलाई बोलाए । तर उहाँलाई बचाउन सकिएन ।’ पंगेनीका अनुसार यो घटना २ बजेर ४२ मिनेट जाँदा भएको हो । रुपा गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा राखेर ८ मिनेटमै नेपाल मनिपाल शिक्षण अस्पताल पु¥याइएको उनले बताए । पंगेनीका अनुसार आफन्त बितेको भएर कृष्ण थापाले बिहानको खाना खाएका थिएनन् । पार्टी कार्यालय तल रहेको होटलमा खानाको अर्डर दिएर उनी दिउँसो १ बजेतिर कार्यक्रममा आईपुगेका थिए । कार्यक्रम बिहान साढे ११ बजे सुरु भएको थियो । ‘अर्डर गरेको खाना पनि खान पाउनु भएन’, पंगेनीले भने ।
बैठकमा आफ्नो प्रभाव क्षेत्रमा किन हारियो भन्ने विषयमा वक्ताहरुले गम्भिर समिक्षा हुनुपर्ने बताएका थिए । सूर्यमा नदिए नेकपाको तारा चिन्हमा मतदान गर्नुहोला भन्ने नेता बेदबहादुर गुरुङको भनाईसंगै आफ्नो टिकट खोसिएपछि कृष्ण थापाको अन्तरवार्ताका विषयमा पनि कुरा उठेको थियो । यि र यस्तै कुरा उठेपछि कार्यक्रमका प्रमुख अतिथि रहेका कृष्ण थापाले स्पष्टीकरण दिएका थिए । उनले पार्टीले व्यहोरेको पराजयको सम्पूर्ण जिम्मा आफुले लिने बताएका थिए । साथै पार्टीलाई सुधारेर लैजानु पर्ने, सबै मिलेर जानु पर्ने बताएका थिए । साथै पार्टी सुधारिन्छ भने आफु पार्टी छाड्नसमेत तयार भएको पनि उनले भनेका थिए । महाधिवेशनमा २ कार्यकालका बारेमा बोलेकाले आफुलाई केन्द्रीय सदस्य हुनबाट रोक्न खोजिएको र टिकट खोसिएको विषय पनि छर्लङ्गै रहेको उनले त्यसक्रममा बताएका थिए । कार्यक्रम एमाले कास्की सचिव दर्शन लामाको अध्यक्षतामा भएको थियो ।
को हुन एमाले नेता थापा ?
२०१६ सालमा पोखराको बाटुलेचौरमा जन्मिएका थापा २०३५÷३६ सालको विद्यार्थी आन्दोलनको राँको बोकेर राजनीतिमा आएका थिए । पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदै उनी पञ्चायत विरोधी आन्दोलनमा होमिए । उनी हक्की स्वभाव भएका व्यक्ति हुन् । थापाले २०४१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए । २०४१ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भए । स्ववियु सभापति भएपछि राजनितिमा सक्रियता झनै बढाएका उनी २०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा लिएर सोमनाथ प्यासीको प्रचारमा खटिए ।
पृथ्वीनारायण क्याम्पसमा स्ववियु सदस्य, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष हुँदै जनपक्षीय चुनाव परिचालन कमिटी सम्हालेका थापाले पञ्चायत राजकाज मुद्दामा २०४३ मंसिरदेखि २०४६ पुससम्म कारागार पुगे । उनले २९ महिना जेल जीवन बिताउँदै २०५१ सालमा पोखरा उपत्यका नगर विकासको अध्यक्ष भए ।
२०५२ मा एमाले पोखरा नगर सचिव भए । उनको चर्चा व्यापक चुलियो । ३५ वर्षे युवास्थामा उनको जोश र योगदानले एमालेको तर्फबाट उनी २०५४ मा पोखराको मेयरमा उम्मेदवारी दिदैँ निर्वाचित भए । हक्की र छिटो निर्णय लिन सक्ने नेताको रूपमा उनको चर्चा हुने गथ्र्यो । तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयरमा विजयी भएका थापाले पोखरा र जापानको कोमागाने शहरबीचमा भगिनी सम्बन्ध गाँसेका थिए । त्यसपछि फेवातालमा समेत कोमागाने पार्कको निर्माण गरियो ।
यस्तै २०५८ सालमा पोखराको विकासको लागि गुरुयोजना सार्वजनिक गरे । उनकै नेतृत्वमा बाटुलेचौरमा बनेको कोमागाने मातृशिशु अस्पतालको स्थापना गरियो । उनले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सीएमए (कम्युनिटी मेडिकल असिस्टेन्ट) गरेको थिए । २०६५ सालमा एमाले कास्कीको सचिव हुँदै २०७० सालमा नवौं जिल्ला अधिवेशनबाट कास्की जिल्लाको अध्यक्षसमेत भएका थिए ।
२०७० सालमा उनी दोस्रो संविधान सभा सदस्य चुनावमा कास्की–२ बाट पराजित भए । २०७४ मा प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क) बाट कांग्रेस उम्मेदवार गुरु बराललाई हराउँदै सांसद बने । कास्कीमा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी समूहका मानिने थापाले ०७९ सालमा पुनः पोखराको मेयरमा उठ्नका लागि सांसद पदबाट राजिनामा दिएका थिए । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समेत कास्की २ मा टिकट पाएका थापाको चर्को आलोचनापछि टिकट खोसेर रश्मी आचार्यले पाएका थिए ।
उनको पछिल्लो समय राजनीतिमा केही उतारचढाव आए । २०७९ मा मेयर बन्न सांसद पद त्यागेका थापाले हालैको निर्वाचनमा कास्की–२ बाट टिकट पाएर पनि अन्तिम समयमा खोसिएको तितो अनुभव सँगाल्नुप¥यो । तर, ती सबै गुनासा र आकांक्षाहरूलाई हृदयमा थाँती राख्दै उनी सधैँका लागि बिदा भए ।
एउटा सिपाही जसरी युद्ध मैदानमा लड्दा–लड्दै ढल्छ, कृष्ण थापा पनि पार्टी र संगठनकै कामको सिलसिलामा मञ्चमै ढले । कास्की एमालेले एउटा खम्बा गुमाएको छ भने पोखराले आफ्नो विकासको एउटा प्रखर वक्ता ।





