
पोखरा/ गण्डकी प्रदेशमा फागुन महिनाभरी भएका सवारी दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशभर उक्त महिनामा विभिन्न जिल्लाका विभिन्न स्थानमा ४१ वटा दुर्घटना भएका थिए । त्यसमा १६ पुरुष, ८ महिला र १ बालिकाले ज्यान गुमाएका कार्यालयले जनाएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् । कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार ४१ दुर्घटनामा ५३ वटा सवारी साधन संलग्न थिए ।
कार्यालयका अनुसार सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ । अधिकांश दुर्घटना चालकको लापारवाहीका कारण भएका छन । ४१ मध्ये ३५ वटा दुर्घटना तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता चालकको लापरवाहीका कारणले भएका छन् । यसैगरी सवारी साधनको यान्त्रिक गडबडीका कारण ३ र सडकको अवस्थाका कारण ३ वटा दुर्घटना भएको कार्यालयको तथ्यांकले देखाएको छ । फागुनमा मात्रै महिनामा मात्रै ११ हजार ६ सय ३९ वटा सवारी साधनलाई कारबाही गरी १ करोड २ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।
कार्यालयले कास्की जिल्लामा गरिएको विशेष चेकजाँचका क्रममा ११ जना स्कुल बसका चालक र ९ जना सार्वजनिक यातायातका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा फेला पारेको छ । यस्तै स्वरुप परिवर्तन गरेका र ठूलो आवाज निकाल्ने ६६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई ३ लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । तनहुँमा भएको ‘हिट एन्ड रन’ घटनामा संलग्न २ वटा सवारी साधन र चालकलाई समेत नियन्त्रणमा लिइएकोछ ।
सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले फागुनमा २ हजार ६३ पटक विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गरेको छ । जसबाट ७७ हजार ४ सय १२ जना नागरिक लाभान्वित भएका छन् । कार्यालयका सूचना अधिकारी गोपीकृष्ण सुवेदीका अनुसार यस अवधिमा २ हजार ७ सय ४३ वटा सवारी साधनको विशेष चेकजाँच र २१ पटक राजमार्ग गस्ती गरिएको छ । प्रहरीले हराएका ३ वटा मोटरसाइकल, १ वटा स्कुटर र ४ वटा अन्य सवारी साधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले सडक प्रयोगकर्ता र नागरिकले ट्राफिक नियमको पालना गरेमा मात्र सम्भावित दुर्घटना र जनधनको क्षति कम गर्न सकिने बताए । यस्तै उत्कृष्ट कार्य गर्ने २ जना प्रहरीलाई पुरस्कृत गरिएको र नियम विपरीत काम गर्ने १ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।





