पोखरा/नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरा पत्रकारिता पुरस्कारबाट व्यक्तिगततर्फ पत्रकार राजबहादुर गुरुङ र संस्थागततर्फ सहारा क्लबलाई सम्मानित गरेको छ ।
यस्तै जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कारबाट फडिन्द्र अधिकारी र एकराज गिरीलाई पुरस्कृत भएका छन् । पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर सोमबार सम्मान र पुरस्कार प्रदान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका अतिथिहरुले ती सम्मान र पुरस्कार प्रदान गरेका थिए ।
सहाराले आहा ! रारा पोखरा गोल्डकपको माध्यमबाट खेलकुद र खेल पर्यटनमा तथा सहारा एकेडेमीमार्फत समाजसेवामा महत्वपूर्ण योगदान दिएको र पत्रकारितामार्फत गुरुङले समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै सम्मान गरिएको महासंघ कास्की अध्यक्ष माधव बरालले जानकारी दिए । दुबैलाई नगद ५०÷५० हजारसहित सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।
यता, जगन्नाथ सिग्देल पत्रकारिता प्राप्त अकिञ्चन र गिरीले पत्रकारितामार्फत समाज रुपान्तरणमा भूमिका खेलेकाले सम्मानित गरिएको महासंघ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए । उनीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सरकार निरकुंश बन्ने खतरा : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालेन्द्र साह नेतृत्वको सरकार निरकुंश हुनसक्ने बताएका छन् । गणितीय रुपमा प्रतिपक्ष कमजोर बनेकाले त्यो सम्भावना रहेको उनको तर्क थियो । ‘पार्लियामेन्ट जहाँ गणितको हिसाब हुन्छ, सरकार बनाउनलाई, त्यो हिसाबले सत्ता पक्ष निकै बलियो बनेको छ,’उनले भने,‘ यस्तो बेला सरकार निरकुंश बन्ने खतरा हुन्छ ।’
मुख्यमन्त्री पाण्डे सोमबार नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकारिता सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा बोल्दै थिए । मुख्यमन्त्री पाण्डेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणप्रति पनि असहमति जाहेर गरे । फागुन २१ को निर्वाचनपछि नेपालको राजनीतिक परिस्थिति अलिकति परिवर्तन भएको चाहिँ उनले स्वीकारे ।
‘सरकारले संयमता गुमाउन मिल्दैन । सरकार बदलाको भावनाले चल्न मिल्दैन । त्यस्तो भयो भने स्वतन्त्रता र न्याय मर्छ,’ पक्राउ प्रकरणप्रति लक्षित गर्दै उनले भने,‘ कानून परिवर्तन भएको होइन । संविधान परिवर्तन भएको छैन । केवल परिस्थिति मात्र परिवर्तन भएको हो । यो भनेको सरकारले संयमता गुमाउने र बदलाभावमा चल्न पाउँदैन ।’
सरकार बदलाको भाव राख्न नहुने बताउँदै गर्दा उनले बलियो सरकारको छायाँ न्यायपालिकामाथि पर्न नहुनेमा जोड दिए । न्यायालले संयमता गुमाउन थालेमा न्याय मर्ने उनको भनाइ थियो । उनले न्यायालय र पत्रकारिताले सरकारलाई निरकुंश बन्नबाट रोक्नुपर्ने धारणा पनि राखे ।
‘पत्रकारिता जगत र न्यायपालिकाको आगामी दिनको भूमिका नेपालको इतिहासमा सबैभन्दा कठीन र सबैभन्दा टड्कारो हुने देखिन्छ’,उनले थपे,‘स्वतन्त्रता कति प्यारो हुन्छ भन्ने मैले आफैले पटक पटक जेल बसेर अनुभव गरेको छु,उनले भने,‘त्यसैले मेरो कार्यकालभरी कोही पनि पत्रकारको कलम भाँचिने, कापी च्यातिने काम हुँदैन ।’





