सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनबारे फोटो पत्रकारको अन्तरक्रिया

मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनबारे फोटो पत्रकारको अन्तरक्रिया


  • ढाेरपाटन संवाददाता
  • चैत्र १९ २०८२, बिहिबार

पोखरा/ नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको माध्यमबाट कसरी ग्रामिण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले पालिकाको प्रकृति र संस्कृति फोटो माध्यमबाट विश्वमाझ चिनिएको बताए । पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समाचार र फोटोमा महत्वपूर्ण भूमिका रहेको उनले सुनाए । मादीको सम्पति भनेकै प्रकृति र संस्कृति भएकाले फोटो पत्रकारले तस्बिरका माध्यमबाट प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाई थियो । ‘हामीसँग बेच्ने २ वटा चिज छ । एउटा प्रकृति अर्को संस्कृति हो । अनि अर्को भनेको कृषि पनि हो । त्यसैले माथिल्लो भेगमा पर्यटन र तल्लो भेगमा कृषियोग्य जमिनमा परिणत गरेर प्रवद्र्धन गरिरहेका छौं,’ उनले भने, ‘माथिल्लो भेगको कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङमा पर्यटकीय क्षेत्र हुन् । विस्तारै याङ्जाकोट, भाचोक, वार्चोकलगायत ठाउँमा होमस्टे विस्तार भइरहेको अवस्था छ ।’

मादीको पर्यटन प्रवद्र्धनका लागि यो वर्ष १५ लाख रुपैयाँ बराबरको रकम ५०÷५० को कार्यक्रममा सहायता दिइने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । पालिकाको ५ सय ६३ वर्गकिलोमिटरको क्षेत्रफलमा ४ सय ६३ वर्गकिलोमिटर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने भएकाले एक्यापसँग मिलेर पनि पर्यटन क्षेत्रको प्रवद्र्धन र स्थायी बसोबासका कार्यक्रम गरिरहेको उनले बताए । तर, माथिल्लो भेगमा बनाइएको होटल, चियाघर दर्तामा समस्या भएको उनको भनाइ थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पालिकाले अझ नयाँ कार्यक्रम बनाउँदै जाने बताए । कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङ जस्तै गरी अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काम गरिरहेकाले त्यसमा फोटो पत्रकारको क्यामेरा र कलम अझै शसक्त हुने उनको भनाइ थियो । सिक्लेस, ताङतिङले आन्तरिक तथा बाह्य पर्यटक तथ्यांक राख्न सुरु गरिसकेकाले अन्य गाउँहरुले पनि त्यसको सुरुआत गर्नुपर्नेमा उनको जोड थियो । केही ठाउँ र गाउँहरु प्रचारप्रसारको पर्खाइमा रहेकाले पत्रकारको नजर पुग्नुपर्ने उनले बताए । ‘फोटोले प्रचारप्रसार पु¥याउने महत्व, त्यसले हामीलाई बनाउने भावुकपना र गौरवगर्ने अवस्थाले फोटो पत्रकारिताको महत्व झल्काउँछ,’ उनले भने ।

नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेलले सूचना प्रविधिको युगमा फोटो पत्रकारिताले प्रचारप्रसारमा खेल्ने भूमिका अतुलनीय रहेको बताए । विशेष गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं सकरात्मक भूमिका खेलेकाले आगामी दिनमा यसलाई निरन्तरता दिन अति आवश्यक रहेको उनले सुनाए ।

कार्यक्रममा मादी गाउँपालिका–३ का अध्यक्ष विकास गुरुङले याङ्जाकोट गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबमा महत्वपूर्ण रहेको बताए । याङ्जाकोटमा आन्तरिक पर्यटक बढेपनि बाह्य पर्यटक कम जाने भएकाले प्रचासप्रसारको आवश्यकता रहेको उनले सुनाए । याङ्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष रोशन गुरुङले पाहुना सत्कारका लागि अहिले १० घर होमस्टे स्थापना गरिएको जानकारी दिए । यहाँ ढुंगाले छाएको घर, गाउँबाट देखिने हिमाल डाँडाकाडा, बीच गाउँमा रहेको ऐतिहासिक पोखरी, गुरुङ मन्दिर, कोट याङ्जाकोटको आकर्षण रहेको जानकारी दिए । गाउँ पुग्ने पाहुनालाई गाउँकै अग्र्यानिक खानाको स्वाद पस्किने गरेको उनले बताए ।

कार्यक्रममा नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङले ग्रामिण पर्यटन प्रवद्र्धनमा संघले स्थापनाकाल देखि नै भूमिका खेल्दै आएकाले यसलाई निरन्तरता दिदैं जाने बताए । यसमा पालिका, वडा, स्थानीय समुदाय र फोटो पत्रकारको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो । संघकी सह–सचिव दुर्गा रानामगरले फोटो र पर्यटन एकअर्काको परिपुरक भएको बताइन् । सोही कारण मादीको पर्यटकीय गाउँ याङ्जाकोटमा अन्तरक्रिया आयोजना गरिएको उनको भनाइ थियो । संघकी उपाध्यक्ष राधिका कंडेलले संयोजन गरेको अन्तरक्रिया कार्यक्रम पत्रकार, स्थानीय, जनप्रतिनिधिसहित ६० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->