काठमाडौं / ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवसको घोषणाको प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायतले समर्थन गरेका थिए ।
संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा २०३६ माघ १ गतेदेखि योग दिवस मनाउन थालिएको थियो ।
नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीन शान्तिमन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ ।





