चितवन / राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। आज चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन्।
महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो।
महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।
महामन्त्री जितेका आचार्य प्रतिनिधि सभा सांसद हुन्। उनी यसअघि सहमहामन्त्री थिए।
निर्वाचित भएलगत्तै उनले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण ५ दिनभन्दा बढी समय लागेको भन्दै माफी पनि मागे । उनले नेपाली जनताले रास्वपालाई चुनावमा दिएको जिम्मेवारी पूरा गर्न आफू खरो रुपमा उत्रिने पनि बताए ।
‘नेपाली जनताले जुन अपेक्षा राखेको छ त्यसमा खरो उत्रिएर जिम्मेवारी पूरा गर्नेछु । विधिसम्मत तरिकाले नागरिकप्रति उत्तरदायी हुने गरी भूमिका खेल्नेछु,’ उनले भने, ‘महामन्त्रीका रुपमा पार्टीमा इमान्दार योद्दाको रुपमा मलाई धेरैले देख्न सक्नेछ । जहाँ विधि, पारदर्शीता र ऐक्यवद्धतातर्फ लैजान मेरो भूमिका रहन्छ । ‘
उनले संगठनात्मक सुधारका लागि पनि आफ्नो भूमिका हुने बताए । ‘स्थानीय तहको उम्मेदवार उपयुक्त छान्ने तिर मेरो ध्यान हुनेछ । पार्टी सञ्चालन कसरी हुन्छ भन्ने कुराले सरकार सञ्चालनमा पनि प्रभाव राख्ने हुन्छ । मेरो ध्यान यसमा पनि हुन्छ ।’





