विश्वकप २०२६ को फाइनलमा फुटबलका सर्वकालीन महान् खेलाडी लियोनन मेसी निराश हुनुपर्दा२०१० को विश्वविजेता स्पेनी टोलीका महत्वपूर्ण सदस्य जेरार्ड पिके दर्शकदीर्घामा थिए । आफ्ना २ छोरा मिलान र सासासँगै अमेरिकाको मेटलाइफ स्टेडियममा उनी स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेका क्षणमात्र नभएर,आफ्नी पूर्वपत्नी साकिराको जोडदार प्रस्तुतिको पनि साक्षी बने ।
साकिराले बर्ना बोयसँग मिलेर ‘दाइ दाइ’ गीत प्रस्तुत गरिरहँदाउनका दुई छोरा खुसी देखिन्थे ।४९ वर्षीया कोलम्बियन गायिका साकिरासँग पिकेको २०१० को विश्वकपको दौरान नै पहिलोपटक भेट भएको थियो । दक्षिण अफ्रिकामा सम्पन्न सो विश्वकपको अफिसियल गीत ‘वाका वाका’को सुटिङकाक्रममा भएको भेट प्रेममा बदलियो । उनीहरु २०२२ सम्म सँगै रहे र अहिले आ–आफ्नै जीवन बाँचिरहेका छन् ।
आफूभन्दा झण्डै १० वर्ष कान्छा पिकेसँगको डिभोर्सपछि साकिराले एप्पल म्युजिकसँगको अन्तर्वार्तामा भनेकी थिइन्,‘एक हिसाबले मलाई श्रीमान नभएको नै राम्रो लाग्छ । किनभने,त्यसले (सम्बन्ध)ले मलाई पछाडि तानिरहेको थियो । अहिले मलाई काम गर्न मन लागिरहेको छ । गीत लेख्न मन लागिरहेको छ । संगीता सिर्जना गर्न मन लागिरहेको छ र यो मेरो मित्रबाट स्वतः जागेको चाहना हो । जुन मैले पहिले महसुस गरेको थिइनँ ।’
उस्तै ऊर्जा : उस्तै प्रस्तुति
साकिराले पछिल्ला ६ मध्ये ४ विश्वकपमा प्रस्तुति दिइसकेकी छन् । उनले सन् २००६ मा जर्मनी विश्वकपको समापन समारोहमा ‘हिप्स डन्ट लाइ’, २०१० मा दक्षिण अफ्रिकामा ‘वाका वाका’, २०१४ मा ब्राजिल विश्वकपमा ‘ला ला ला’ र यसपटक ‘दाइ दाइ’ प्रस्तुत गरेको रेकर्ड बनाएकी छन् । उमेरले डाँडो काटे पनि शाकिरा २००६ माजस्तै ऊर्जा बोकेर हाफटाइम सोमा उत्रिएकी थिइन् ।
‘दाइ दाइ’ फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डको आधिकारिक गीत हो ।साकिराले ग्लोबल सिटिजन र फिफासँग मिलेर पिछडिएका समुदायका बालबालिकालाई शिक्षामा पहुँच विस्तार गर्ने अभियानमा सहकार्य गरिरहेकी छन् । गीतबाट प्राप्त हुने रोयल्टी शिक्षा कोषमा प्रदान गरिनेछ भने सोनी म्युजिकले उठेको पहिलो २ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम बराबर सहयोग गर्ने घोषणा गरेको छ ।

कार्यक्रमका क्रममा साकिरासँगै पप सुपरस्टार बियोन्सेसँग पनि भेटिएकी थिइन् । उनले दुवैले एकअर्कालाई अंगालो हालेको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा साझा गरेका छन् । त्यतिमात्र नभएर उनले ब्याकअप डान्सरप्रति पनि उत्तिकै माया व्यक्त गरिन् ।
ब्याकअप डान्सरहरूमध्ये एक थिइन्–सायना–रेनी व्हिट्ली, जसले सन् २०२२ मा साकिराको टेलिभिजन कार्यक्रम ‘डान्सिङ विद माइसेल्फ’मा सहभागिता जनाएकी थिइन् । सिएउनका अनुसार फाइनलमा विजेता बन्न नसके पनि व्हिट्लीको सपना त्यहीँ समाप्त भएन। साकिराले उनको खुलेर प्रशंसा गर्दै उनी आफू वा बियोन्सेको ब्याकअप डान्सर बन्न सक्ने क्षमता भएको बताएकी थिइन् ।
साँच्चै व्हिट्लीले आफूलाई प्रमाणित गरिन् । विश्वकपको मञ्चमा साकिरासँगै प्रस्तुति दिएपछि व्हिट्लीले आफ्नो इन्स्टाग्राममा साकिराले प्रतियोगितामा पराजित भएपछि आफूलाई हौसला दिएको क्षणको भिडियो र विश्वकप हाफटाइम शोमा उनीसँगै नृत्य गरेको भिडियो साझा गरिन् ।
‘जीवनमा यस्ता क्षणहरू आउँछन्, जसले तपाईंलाई किन आफ्नो सपनामा विश्वास गर्न कहिल्यै छाड्नु हुँदैन भन्ने सम्झाइदिन्छ,’उनले लेखिकी छन्,‘सन् २०२२ मा म साकिराको नयाँ कार्यक्रम डान्सिङ विद माइसेल्फमा सहभागी भएकी थिएँ र फाइनलसम्म पुगेकी थिएँ । मैले पहिलो स्थान जितिनँ, तर मैले जीवनभर बिर्सन नसक्ने एउटा अमूल्य कुरा पाएँ । साकिराले मलाई भनेकी थिइन् ‘एक दिन तिमी मेरो वा बियोन्सेको ब्याकअप डान्सर बन्न सक्छौ।’ हिजो, चार वर्षपछि, मैले विश्वकै सबैभन्दा ठूलो मञ्चमध्ये एकमा फिफा हाफटाइम सोमा शाकिरासँगै नृत्य गर्ने अवसर पाएँ । शाकिराकै शब्दमा भन्ने हो भने, ‘यहाँ, यही स्थानमा, तिम्रो पनि स्थान छ ।’
घेट्टो किड्सको ऐतिहासिक प्रस्तुति
फिफा विश्वकप २०२६ को फाइनलमा विश्वभरका चर्चित कलाकारसँगै ‘घेट्टो किड्स’को ऐतिहासिक प्रस्तुतिले पनि धेरैको ध्यान खिच्यो । न्यु जर्सी स्टेडियममा म्याडोना, जस्टिन बिबर र बिटिएसलगायत विश्वका चर्चित कलाकारको प्रस्तुतिलाई छायाँमा पार्ने गरी उनै साकिरासँग नाच्ने ‘घेट्टो किड्स’को पृष्ठभूमि फरक छ ।
घेट्टो किड्सयुगान्डाको राजधानी कम्पालाका सडकबाट उदाएको विपन्न परिवारका बालबालिकाको नृत्य समूह हो । फ्रेन्स २४ टिभीका अनुसार यो इन्स्पायर घेट्टो किड्स फाउन्डेसन अन्तर्गत सञ्चालित समूह हो । पेशाले गणितज्ञ रहेका र कुनै समय कम्पालाको सडकै बस्न बाध्य भएका काभुमा डाउडाले सन् २००७ मा यसको स्थापना गरेका हुन् । सानैमा आमाबुबा गुमाएका काभुमाले आफ्नै जीवनमा भोगेका कठिनाइ दोहोरिन नदिन तथा कठिन अवस्थामा रहेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले यो संस्था स्थापना गरेका हुन् । कलामा आधारित यो गैरसरकारी संस्थाले कलात्मक गतिविधिसँगै यस संस्थाले बालबालिकालाई खाना,आवास,स्वास्थ्य उपचार, शिक्षाजस्ता आधारभूत आवश्यकता पनि उपलब्ध गराउँदै आएको छ। हाल संस्थाले ६० टुहुरा तथा जोखिममा रहेका बालबालिकाको हेरचाह गरिरहेको छ।
सडक र अन्य असुरक्षित स्थानमा आधारभूत आवश्यकताविना जीवन बिताइरहेका बालबालिकाको सपना, आकांक्षा र चाहना पूरा गराउने आफ्नो उद्देश्य रहेको पूवशिक्षक काभुमाले बताउँदै आएका छन् । संस्थाले संगीत र नृत्यका परियोजनामार्फत कठिन अवस्थामा रहेका बालबालिकामा अझै पनि आशा बाँकी रहेको सन्देश दिन्छ ।
३६ वर्षीय काभुमाले आफ्नो विगत सम्झँँदै एकठाउँमा भनेका छन्,‘बुबाको निधनपछि सानै उमेरदेखि संघर्ष गर्नुप¥यो । जीविका चलाउन उनले फोहोरका थुप्राबाट बेच्न मिल्ने सामान संकलन गर्ने, ट्राफिकमा रोकिएका सवारी चालकलाई फलफूल बेच्ने काम गरियो । सडकमै रात बिताइयो ।’
बाल्यकालमा उनको पहिलो रुचि फुटबल थियो । पछि एक साथीको प्रेरणाले उनी गायनतर्फ आकर्षित भए ।‘जब म गीत गाउँथेँ, आफ्नो दुःखद विगत बिर्सिन्थेँ,’उनी भन्छन् । परोपकारी संस्थाको स्थापनापछि उनले गीत–संगीत र नृत्यलाई कठिन अवस्थामा रहेका बालबालिकाको नयाँ सपना प्रदर्शनको माध्यम बनाए ।
‘धेरैले सडक बालबालिकाको समाजमा कुनै मूल्य छैन भन्ने सोच्थे । तर मेरो सोच फरक थियो,’उनले भनेका छन्,‘मैले सोचेँ—यदि संगीत, नृत्य र नाटकमार्फत् घेट्टोमा रहेका विपन्न बालबालिकाको जीवन परिवर्तन गर्न सकियो भनेसंगीतप्रतिको मेरो प्रेम र कठिन समयमा मलाई साथ दिने समाजप्रति ऋण तिर्ने चाहनाले नै मलाई प्रेरणा दियो ।’
सन् २०१४ मा युगान्डाली गायक एडी केन्जोको चर्चित गीत ‘सित्या लस’मा आधारित आफ्नै प्रयासमा तयार पारिएको नृत्य भिडियो सार्वजनिक भएपछि ट्रिप्लेट्स घेट्टो किड्सले विश्वव्यापी सञ्चारमाध्यमको ध्यान तानेको थियो । त्यसयता उनीहरूका युट्युब भिडियोले संयुक्त रूपमा २ अर्ब ६० करोडभन्दा बढी पटक हेरिएको रेकर्ड बनाएका छन् । ट्रिप्लेट्स घेट्टो किड्सका बाल कलाकारहरूले सन् २०२३ मा ब्रिटेन्स गट ट्यालेन्टमा नृत्य, रंगीन पोशाक र सदैव मुस्कुराइरहने अनुहारमार्फत् निर्णायक र दर्शक दुवैको मन जितेका थिए।
उनीहरूको प्रस्तुति पृष्ठभूमिमा परालले छाएको सानो झुपडी र चर्को पहेँलो घामको दृश्य देखाइन्थ्यो, जसले उनीहरू कम्पालाको गरिब बस्तीबाट आएको र कठिन जीवन पार गर्दै यहाँसम्म पुगेको संकेत दिन्थ्यो ।
गायिका साकिराले चलचित्र ‘जुटोपिया २’को गीत ‘जू’मा घेट्टो किड्सले आफ्नै शैलीमा तयार पारेको नृत्यको भिडियो देखेपछि उनीहरूलाई विश्वकपको हाफ–टाइम शोमा आफूलाई साथ दिन निम्त्याएकी थिइन् ।
यसअघि जुलाई महिनाको सुरुआतमा न्यु जर्सीमा भएको साकिराको कन्सर्टमा पनि घेट्टो किड्सले मञ्च सेयर गर्ने अवसर पाएका थिए । घेट्टो किड्सले यसअघि कलाकार क्रिस ब्राउन,फुटबलका महान् खेलाडी लियोनेल मेस्सी र सर्जियो अगुएरोसँग भेट गरिसकेका थिए ।
फिफाको आधिकारिक वेबसाइटका अनुसार हाल घेट्टो किड्सका इन्स्टाग्राममा ९० लाखभन्दा बढी र टिकटकमा १ करोड ३० लाखभन्दा बढी फलोअर छन्। उनीहरूले अफ्रिकन म्युजिक म्याग्याजिन अवार्ड तथा अफ्रिकन इन्टरटेन्मेन्ट अवार्डस्लगायतका उपाधि जितेका छन् ।





