काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा जारी विज्ञप्तिमा तीन सांसद पदमुक्त गरिएको उल्लेख छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत वाग्मती प्रदेश सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले पदमुक्तको निर्णय लिएको हो ।
उनीहरूलाई पदमुक्त गरिएको पत्र वाग्मती प्रदेशसभाका उपसभामुखलाई जानकारी गराइएको छ । उक्त पत्र प्रदेश सचिवालयमा दर्ता समेत भएको राप्रपाले बताएको छ ।
राप्रपाको यो निर्णयसंगै बागमतीका मुख्यमन्त्रीको पद पनि धरापमा परेको छ । राप्रपा सांसदको सहयोगमा एमालेबाट मुख्यमन्त्री बनेका किरण थापाले प्रदेशसभामा आजै विश्वासको मत लिने कार्यक्रम छ ।





