मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

देउवा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, बिहीबार पेसी

देउवा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, बिहीबार पेसी

निर्वाचन समितिले महाधिवेशन कार्यतालिका ल्याएकोले त्यो बदर गर्न देउवा र खड्काले माग गरेका छन्।


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८३, मंगलबार

काठमाडौं / नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको पूरक निवेदन सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको छ। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले पेस गरेको छुट्टाछुट्टै पूरक रिट निवेदन सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको हो।

उक्त निवेदन दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। देउवा र खड्काले पूरक रिट निवेदन शुक्रबार नै सर्वोच्चमा पेस गरेका थिए। तर केही सच्याउनुपर्ने भएकाले त्यसदिन दुबै रिट निवेदन फिर्ता लगे।

सोमबार फेरि पेस भएकोमा अध्ययनपछि दर्ता भएको हो। केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो।

उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत् राखेर हालै केन्द्रीय निर्वाचन समितिले भदौ २४ देखि वडा अधिवेशन सुरू हुने गरी अधिवेशन तालिका प्रकाशित गरेको थियो।

विशेष महाधिवेशनबारेको सर्वोच्चको निर्णय पुनरवलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने पक्षमा देउवा र खड्कालगायत संस्थापनइतर पक्ष छ।

देउवा र खड्काले निर्वाचन समितिले महाधिवेशन कार्यतालिका ल्याएकोले त्यो बदर गर्न माग गरेका छन्। गत पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->