
पोखरा / गत वर्षको जेन-जी आन्दोलनका समयमा देशका विभिन्न कारागारबाट भागेका ३ हजार ६०५ जना कैदी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार फरार हुनेमा केही गम्भीर तथा जघन्य अपराधमा सजाय भोगिरहेका कैदीसमेत छन् ।
२४ भदौको आन्दोलनका क्रममा सुरक्षाकर्मीले जेलको अवस्था नियन्त्रणमा लिन नसकेपछि एकपछि अर्को गर्दै कैदीबन्दी कारागारबाट भागेका थिए । कुल १३ हजार ५८५ कैदी भागेकामा ९ हजार ९७५ जना कारागार फर्किसकेको विभागका महानिर्देशक माधवप्रसाद पोखरेलले बताए । उनका अनुसार ५ जनाको भने मृत्यु भएको छ ।
प्रहरीले विभिन्न कारागारबाट भागेका कैदीको खोजीका लागि देशभर अभियान सञ्चालन गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कास्की कारागारबाट भागेका हरिबहादुर गुरुङलाई पक्राउ गरेको छ । बलात्कार मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका गुरुङलाई कास्कीको रूपा गाउँपालिका-७ धारापानीबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले जेलबाट फरार कैदीको खोजी अभियान निरन्तर सञ्चालन भइरहेको बताए । कतिपय कैदी भने जेलबाट भागेपछि आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा समेत पक्राउ परेका छन् ।
कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको सूची अद्यावधिक गरी स्थानीय तहदेखि राज्यका सम्बन्धित निकायमा पठाएको छ । फरार कैदीको खोजी, पहिचान र पक्राउका लागि सबै निकायलाई समन्वय गर्नसमेत आग्रह गरिएको छ ।





