बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

दिवंगतलाई श्रद्धाञ्जली, पीडितलाई राहत

दिवंगतलाई श्रद्धाञ्जली, पीडितलाई राहत


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८३, बुधबार

बैदाम तामाङ समाजको २ लाख
पोखरा/भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बैदाम तामाङ सेवा समाजले प्रधानमन्त्री राहत कोषमा २ लाख १८ हजार ४ सय १६ सहयोग गरेको छ ।

विपद्को कठिन समयमा प्रभावित परिवारको साथमा उभिने उद्देश्यले समाजले उक्त रकम राहत कोषमा सहयोग गरेको हो । समाजका अध्यक्ष ज्याक तामाङले मंगलबार बिहान पोखराको सेदी डाँडामा विशेष पूजा तथा प्रार्थना गरिएको जनाए ।

भोटेकोशीमा आएको बाढी तथा फेवा तालमा भएको दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्तिको कामना, बेपत्ता नागरिकहरूको सकुशल उद्धार तथा पीडित परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने उद्देश्यले पूजा तथा प्रार्थना गरिएको हो ।

बार एशोसिएसनको ६८ हजार प्रदान
नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङले भोटकोशी बाढीपीडितलाई सहयोग गरेको छ । बारका सदस्यबाट संकलित रकमबाट बाढी पीडितका लागि ६८ हजार ३ सय पठाइएको अध्यक्ष गीता श्रीषले बताइन् ।

रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेपछि अध्यक्ष श्रीषले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई भौचर बुझाएकी हुन् । व्यक्तिगत रुपमा पनि बारका सदस्यहरुले सहयोग गरेका छन् भने संस्थागत रुपमा पनि सहयोग जुटेको छ ।

प्रगतिबाट ७ लाख
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरा–१६, बाटुलेचौर स्थित प्रगति माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ ।
शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलित ७ लाख १ सय ३१ रुपैयाँ प्याब्सन कास्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार राहत कोषमा जम्मा भएको विद्यालयले जनाएको छ । विद्यार्थीबाट १ लाख ९१ हजार १ सय ६६, शिक्षक कर्मचारीबाट २ लाख ७३ हजार ९ सय ६५, विद्यालयको च्यारिटी फन्डबाट ७५ हजार र विद्यालय सञ्चालकबाट १ लाख ६० हजार संकलन भएको जयराम पौडेलले जानकारी दिए ।
विद्यालयले बाढीमा परेर ज्यान गुमाएका नागरिकको सम्मान स्वरुप सोमबार श्रद्धाञ्जलीसहित दीप प्रज्वलनसमेत गरेको छ ।

गुरुकुलले दियो सवा लाख
भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि पोखरा ३० स्थित गुरुकुल विद्याश्रम तथा गुरुकुल कलेज अफ होटेल म्यानेजमेन्ट, म्यानेजमेन्ट एन्ड टुरिजमले आर्थिक सहयोग गरेको छ ।

विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीको संयुक्त प्रयासबाट संकलित १ लाख २९ हजार २ सय ३० रुपैयाँ राहत कोषमा जम्मा गरिएको प्रचार्य मिलन केसीले जानकारी दिए । विपद्को समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालयले संस्थागत तथा व्यक्तिगत तर्फबाट रकम संकलन गरेको हो ।

बाढीपीडितको पीडामा महलम लगाउने उद्देश्यले गरिएको यो सहयोग दान नभई विपद् परेका नागरिकप्रतिको ऐक्यबद्धता भएको केसीको भनाइ छ ।

सृजनाले दियो साढे ५ लाख
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापनका लागि पोखरा–८, सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलले ५ लाख ५४ हजार रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय प्रशासनको संयुक्त योगदानबाट संकलित रकममध्ये ३ लाख २० हजार हिसान कास्कीमार्फत र २ लाख २० हजार रुपैयाँ प्याब्सन कास्कीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

१४ हजार रुपैयाँ नेपाल रेडक्रस सोसाइटी, कास्की शाखामार्फत बाढी प्रभावित क्षेत्रमा पीडितलाई सहयोग दिइने प्राचार्य डोलराज पाण्डेले बताए । बाढीको १३ औं दिन सोमबार विद्यालयले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्राचार्य पाण्डेले विद्यालय पठनपाठनमा मात्र सीमित नरही विपद्को संवेदनशील घडीमा मानवीय भावनाका साथ सामाजिक उत्तरदायित्व निर्वाहमा समेत अग्रसर हुनुपर्ने जनाए ।

दीप प्रज्वलन
फोटोग्राफर संघ गण्डकीले आफ्नो ८ औं स्थापना दिवस मनाएको छ । संघले भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरी दिवस मनाएको हो ।

पोखरामा आयोजित एक कार्यक्रममा संघका सदस्य र पदाधिकारीले सामूहिक रूपमा दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाउनेहरुको आत्माको बैकुण्ठ बासको कामना गरे । उनीहरूले बाढीबाट प्रभावित भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभका लागि समेत प्रार्थना गरेका छन् ।

सामाजिक उत्तरदायित्व अवलम्बन गर्दै संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सदस्यद्वारा संकलन गरिएको १५ हजार प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->