पोखरा/ पहिरोले थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङ खोलामा पानीको बहाब पहिलेकै अवस्थामा फर्किएको छ । घान्द्रुक र छोम्रोङको बीचमा रहेको कुम्रोङ खोलामा आएको पहिरोले मंगलबार साँझ ६ बजेदेखि खोला थुनिएको थियो ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पहिरोले थुनिएको भाग खुल्दै गएर पानीको बहाब पहिलेकै अवस्थामा फर्किएको बताए । उक्त खोला मोदीखोलामा गएर मिसिने भएकाले प्रहरीले तल्लो तटीय क्षेत्र वीरेठाँटी, नयाँपुल लगायत क्षेत्रमा रातभरि सतर्कता अपनाउन भनेको थियो । स्थानीय सुरक्षित स्थानमा बसेका थिए ।
मंगलबार साँझ किम्रोङ खोला नजिकैका स्थानीयले खोलामा पानी एक्कासी घटेको खबर गरेपछि पालिका र प्रशासनले तल्लो तटीय बस्तीमा माइकिङ गरी सुरक्षित स्थानमा सारेका थिए । अन्नपूर्ण दक्षिण हिमालको फेदीबाट उत्पत्ति भएर मोदी खोलामा मिसिने किम्रोङ खोलामा पानी घटेपछि मोदीमा निर्माणाधिन ९९ मेगावाटको लान्द्रुक जलविद्युत् आयोजनाका मजदुर र सुरक्षाकर्मी सुरक्षित स्थानमा सरेका थिए ।





