शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

शुल्क घट्यो, जोखिम बढ्यो

शुल्क घट्यो, जोखिम बढ्यो

आलोपालो प्रणाली हटेपछि दुर्घटनाको त्रास, बारम्बार देखिने उल्झनको कहिले होला निकास ?


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८३, शुक्रबार

पोखरा/पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क घटेको छ । आलोपालो उडान पद्धति हटाइएपछि शुल्क कम भएको हो । व्यवसायीले उडानको शुल्क ३७ प्रतिशत घटाएका छन् ।

यसअघि ८ हजारसम्म उडान शुल्क लिने गरिएकोमा अहिले ५ हजार बनाइएको छ । कम्पनीबीच भएको प्रतिस्पर्धाले मूल्य घटाउनु राम्रो पक्ष हो । तर, बढी पर्यटक तान्ने र धेरै फ्लाइट गर्ने मनसायले मौसमको अवस्थालाई वास्ता गरिएन भने सुरक्षा चुनौती थपिने व्यवसायीको बुझाइ छ । यसबाट देखिएका चुनौती समाधान गर्दै प्याराग्लाइडिङलाई व्यवस्थित रूपमा सञ्चालन गरिएको नेपाल हवाई खेलकुद संस्था (नाका) अध्यक्ष अनिल केसीको दाबी छ ।

नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा रेडियो, जिपिएस लगायतका प्रविधिको व्यवस्था गरिएको र दसैं तथा अंग्रेजी नयाँ वर्षमा माग अझ बढ्ने उनले बताए । २१ महिनासम्म आलोपालो प्रणालीमा उडान सञ्चालन हुँदा दुर्घटना निकै न्यून भएको व्यवसायीको दाबी छ ।

पछिल्लो दुई महिनामै प्याराग्लाइडिङ उडानका क्रममा २ दुर्घटना भए । ती दुर्घटनामा एक चिनियाँ नागरिकसहित दुई विदेशी पर्यटक घाइते भएका थिए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङलाई व्यवस्थित र थप सुरक्षित बनाउन रेडियो र जिपिएसमार्फत सुविधा सम्पन्न बनाउने काम पनि गरेका छौं’, उनले भने, ‘हामीले थप सुरक्षामा कडाइ गरेका छौं र भविष्यमा अझ थप उत्कृष्ट पर्यटक आउनेमा आशावादी छौं ।’

मूल्य घटेपछि अफ सिजनमै दिनमा १ सय ५० हाराहारी उडान भइरहेका छन् । पोखरा विश्वकै आकर्षक र सुरक्षित प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित भएकाले विभिन्न देशका पर्यटक तथा सोलो पाइलटसमेत यहाँ आउने गरेको नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबका अध्यक्ष लक्ष्मणबहादुर थापाले बताए । नयाँ अवतरण स्थलका कारण बुकिङ गर्ने पर्यटकको संख्या बढेको र सुरक्षालाई प्राथमिकता दिँदै ग्लाइडर तथा उपकरणको नियमित परीक्षण, मौसम विश्लेषण र रेडियो जिपिएसको प्रयोग भइरहेको उनले बताए ।

प्याराग्लाइडिङ र टे«किङका पर्यटक आउने जनाउँदै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य पछिल्लो समय प्याराग्लाइडिङलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउँछन् । सराङकोट र तोरीपानीबाट हुने प्याराग्लाइडिङ पर्यटकको प्रमुख आकर्षण रहेको एडभेन्चर नेसन ट्रेक्स एन्ड ट्राभल्सका सञ्चालक तीर्थराज सुवेदीको भनाइ छ । व्यवस्थापनमा देखिएका समस्या सम्बन्धित निकायले अध्ययन गर्नुपर्ने र खुला प्रतिस्पर्धाले सुरक्षामा असर पार्न सक्ने भन्दै, व्यवस्थित सञ्चालन गर्न सके पर्यटकको बसाइ अवधिसमेत बढ्न सक्ने उनले बताए ।

सन् १९९६ देखि सुरु भएको पोखराको प्याराग्लाइडिङ अन्नपूर्ण र माछापुच्छ«े हिमशृंखला तथा फेवातालको मनोरम दृश्यका कारण अहिले अन्तर्राष्ट्रिय स्तरमा स्थापित छ । हाल पोखरामा ५३ वटा प्याराग्लाइडिङ कम्पनी नवीकरण भइसकेका छन् भने ७ नवीकरण हुन बाँकी छन् । करिब ४ सय पाइलट सक्रिय छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->