काठमाडौं / निजी क्षेत्रको खस्किँदो मनोबल र नीतिगत असहजता हटाउने विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र उद्योगी–व्यवसायीबीच झण्डै दुई घण्टा गम्भीर छलफल भएको छ।
सुरुमा आधा घण्टाका लागि तय गरिएको छलफल लम्बिँदै दुई घण्टासम्म तन्किएको हो।
छलफलमा चौधरी समूह (सीजी)का विनोद चौधरी, आईएमई समूहका चन्द्रप्रसाद ढकाल, राजनीतिज्ञ एवं लिटल एन्जल्स एजुकेसन ग्रुपका उमेश श्रेष्ठ र गोल्यान समूहका पवनकुमार गोल्यान सहभागी थिए।
प्रधानमन्त्री बालेनले भाटभटेनी समूहका मीनबहादुर गुरुङलाई पनि छलफलमा डाकेका थिए। तर, उनी भने स्वास्थ्य अवस्था ठीक नरहेकाले उपस्थित भएनन्। उद्योगी व्यवसायीसँग छलफलको सबै चाँजापाँजो राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा व्यवसायीसमेत रहेकी विदुषी राणाले मिलाएकी थिइन्।
प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका समस्या समाधान गर्न आवश्यक परे विद्यमान कानुन संशोधनदेखि नयाँ कानुन निर्माणसम्म गर्न तयार रहेको बताएका थिए। सोही छलफलमा उनले अनाहकमा व्यवसायीलाई धरपकड नगर्ने र ढुक्क भएर लगानी विस्तार गर्न आग्रह समेत गरेका छन्।
निजी क्षेत्रले भोगिरहेका समस्या, लगानी स्थिति र त्यसलाई प्रवर्द्धन गर्ने विषयमा प्रधानमन्त्रीसँग राम्रो र गहिरोसँग छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आईएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। उनका अनुसार नीतिगत असहजताका कारण निजी क्षेत्रले भोगिरहेका समस्याको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।
‘प्रधानमन्त्रीज्यूले एकदमै पोजिटिभ ढंगले कुन समस्यालाई कसरी समाधान गर्ने भन्नेमा हामीसँग खुलेर छलफल गर्नुभएको छ। हामीले राखेका हरेक विषय तथा समस्यालाई सकारात्मक समाधानका उपायसहित आफैँ प्रस्तुत हुनुभयो। विद्यमान कानुनले समाधान गर्छ भने त्यसैबाट, नभए नयाँ ऐन कानुन वा भएका कानुन फेरेर भए पनि निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्छु भन्नुभएको छ। सबै समस्यामा ओपन छलफल भएको छ’, ढकालले भने।
निजी क्षेत्रका समस्या, सुझाव र नीतिगत विषयहरूमा निरन्तर छलफल तथा समन्वय गर्न सरकार र निजी क्षेत्रबीच नियमित बैठक बस्ने गरी एउटा स्थायी संयन्त्र निर्माण गर्ने विषयमा समेत प्रधानमन्त्री सकारात्मक देखिएको ढकालले बताए।
प्रधानमन्त्री शाहले देशमा किन नयाँ उद्योगहरू स्थापना हुन सकेनन् भन्दै उद्योगी व्यवसायीसँग बुझ्ने प्रयास गरेका छन्। उद्योगी व्यवसायीहरूले भोग्नुपरेका समस्या र त्यसको समाधारको उपाय के हुन सक्छन् भन्दै प्रधानमन्त्री बालेनले चारै जनासँग सल्लाह गरेका हुन्।
उद्योगी व्यवसायीहरूले आफूहरूमा लगानी गर्ने मनोबल निकै खस्किएको भन्दै सरकारले त्यसलाई माथि उठाउन गम्भीर पहल लिनुपर्ने एकस्वरमा बोलेका छन्।
व्यवसायीहरूले क्षेत्रगत हिसाबमै जस्तै शिक्षा, स्वास्थ्यसहित उद्योगीहरूले किन नेपालमा लगानी गर्न चाहिरहेका छैनन् भनेर प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
समग्ररूपमा सरकारले उद्योगी व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न राज्यले लिनुपर्ने कदम, के गर्दा देश समृद्ध बन्छ, त्यसको लिखित खाका पेस गर्नसमेत प्रधानमन्त्रीले उद्योगीहरूलाई आग्रह गरेको छलफलमा सहभागी लिटल एन्जल्स एजुकेसन ग्रुपका श्रेष्ठले बताए।
व्यवसायीहरूले दिएकै सुझाव र सल्लाहलाई सरकारले आफ्नो कार्ययोजनामा समेटेर अघि बढ्ने आश्वासन प्रधानमन्त्री शाहले दिएको उनको भनाइ छ।
‘नेपालको समृद्धिका लागि प्राइभेट सेक्टरले कुन कुन क्षेत्रमा लगानी गर्न सक्छ। कुन ठाउँमा नीतिगत समस्या छ। के कस्ता हुन् समस्या भनेर हामीसँग गम्भीर ढंगले छलफल गर्नुभएको छ। एकदमै खुला किसिमले छलफल गर्यौँ आज। हामीले नीतिगत, रुल अफ लमा देखिएका समस्या सरकारले समाधान गरे देशले १० वर्षमै ठूलो फड्को मार्न सक्छ भनेर भनेका छौँ’, श्रेष्ठले भने, ‘सरकारले कुन कुन सेक्टरमा निजी क्षेत्रले लगानी गर्नुपर्ने हो त्यसको प्राथमिकीकरण गर्न हामीले प्रधानमन्त्रीज्यूसँग आग्रह गरेका छौँ।’
व्यवसायी श्रेष्ठले आफूहरू प्रधानमन्त्रीसँगको भेटपछि आशावादी बनेको बताएका छन्। हरेक वर्ष सरकार फेरिने प्रवृत्तिबाट अहिले ५ वर्षको स्थायी सरकार बनेको भन्दै श्रेष्ठले यस्तो अवस्थामा पनि उद्योगी व्यवसायीले उन्नति प्रगति गर्न नसके कहिल्यै गर्न नसक्ने विषयमा प्रधानमन्त्री जानकार रहेको बताए।
‘प्रधानमन्त्रीज्यूले हामीलाई आश्वस्त पार्ने प्रयास गर्नुभएको छ। सबै उद्योगी व्यवसायी बसेर विभिन्न क्षेत्रले भोगिरहेका सही समस्या पहिचान गरेर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। शिक्षा, स्वास्थ्य, कृषिलगायत सेक्टरल समस्या समाधानबारे उहाँको बढी चासो छ। हाम्रा सबै समस्या लेखेर दिनुस् भन्नुभएको छ। नीतिमा परिवर्तन गर्नुपरे गरौँला, ऐनलाई फेर्नुपर्ने भए ऐनै फेर्छौँ भन्नुभएको छ’, श्रेष्ठले भने।
छलफलमा सहभागी व्यवसायीहरूले आफूहरू सामूहिक छलफल गरेर समाधानको उपायसहित प्रधानमन्त्रीलाई विस्तृत प्रतिवेदन दिने तयारीमा लागेका छन्। निजी क्षेत्र ठूलो रहेकाले सबैसँग पर्याप्त छलफल गरेर प्रधानमन्त्रीलाई लिखित प्रतिवेदन दिने उनीहरूको भनाइ छ।
पैसा छ तर कोही उद्योगी व्यवसायीको लगानी गर्ने मनोबल अहिले छैन भन्दै व्यवसायीहरूले सबैसँग छलफल गरेर समस्या प्रधानमन्त्रीसम्म पुर्याउने भन्दै बाहिरिएका थिए।
पछिल्लो समय उद्योगी व्यवसायीहरूलाई विभिन्न बहानामा राज्यले धरपकड गरिरहेको विषयमा पनि चर्को असन्तुष्टि जनाएका छन्।
‘सरकारले पनि उद्योगी व्यवसायीलाई थुन्ने, छेक्ने गर्ने होइन। लगानीको बाटो देखाउनुपर्ने राज्यले उल्टै धरपकड गर्नुहुँदैन भन्ने हामी सबैले भन्यौँ। धेरै राम्रो कुरा भएको छ। व्यवसायीलाई थुन्ने होइन। आर्थिक अपराध गरेको छ भने ऊबाट क्षतिपूर्ति भराउने हो, आर्थिक जरिवाना गराउने हो थुन्नु हुँदैन भनेर भनेका छौँ। ठूलो बदमासी गरेको छ भने त हामीले केही भन्नु छैन। त्रसित मनस्थितिले लगानीको वातावरण बिग्रिन सक्छ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ’, श्रेष्ठले भने।
आईएमई ग्रुपका अध्यक्ष ढकालले आफूहरूले यो विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेको बताए।
प्रधानमन्त्री शाहले अबदेखि अनाहकमा व्यवसायीलाई धरपकड नगरिने प्रतिबद्धता जनाएका छन्। व्यापारीलाई व्यापार गर्न लगाएर राज्यले कर लिने भन्दै उनले स्पष्ट रूपमा ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरेका छन्।
‘छलफल अत्यन्तै सौहाद्रपूर्ण रह्यो। प्रधानमन्त्रीज्यूले देशको अर्थतन्त्रको बारेमा अत्यन्तै गंभिरता र गहिराइका साथ चासो राख्नु भयो। उहाँ आफै पनि खुलस्त रुपमा छलफलमा सहभागी हुनुभयो,’ चौधरीले बताए ।
प्रधानमन्त्री शाहसँगको छलफलपछि उत्साहित बनेको पनि उनले जनाएका छन्। ‘प्रधानमन्त्रीज्यूसँगको संवादपछि म उत्साहित कुन रुपमा छु भने यति लामो छलफलको क्रममा उहाँ र हामीबीच कुनै पनि विषयमा विमति देखिएन,’ चौधरीले भने, ‘सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्छन् भन्ने आजको संवादले स्पष्ट पारेको छ।’
व्यवसायीहरूले ८० प्रतिशत लगानी निजी क्षेत्रले नै गर्ने भन्दै बाँकी २० प्रतिशत हिस्सा सरकारको रहने भन्दै सरकार व्यापार गर्नतिर लाग्न नहुने बताएका छन्। प्रधानमन्त्री शाहले रुग्ण बनेका सरकारी उद्योग तथा कलकारखाना मात्रै सरकारले केही समय चलाउने अरु सबै निजी क्षेत्रले गर्ने स्पष्ट पारेका छन्।
‘सरकारले व्यापार गर्दैन। जुट मिल, रबर उद्योग, कपडा उद्योगलाई केही समय सरकारले चलाउने हो, अरु त सबै निजी क्षेत्रले नै चलाउनुपर्छ’, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने।





