शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

लौ आउनुहोस्; एक–अर्कालाई गाली गरौँ !

लौ आउनुहोस्; एक–अर्कालाई गाली गरौँ !

 विचारको बहस हराउँदै छ; तर्कको अन्तिम संस्कार हुँदै छ । हामी सबै हातमा फूल होइन; गालीको माला बोकेर अन्तिम यात्रामा लामबद्ध छौँ ।


  • खडग पाण्डे
  • भाद्र २९ २०८३, सोमबार

जब तर्क गर्न सकिन्छ; आवाज चर्किन्छ । जब तर्क पूर्णतः सकिन्छ; गाली सुरु हुन्छ । किनकि गाली तर्कको विकल्प होइन; तर्कको अन्तिम संस्कार हो । अन्तिम संस्कारमा सामेल हुनु त नागरिकको कर्तव्य नै भयो !
त्यसैले आउनुहोस्; आफ्नो कर्तव्य पूरा गरौँ–गाली गर्न सुरु गरौँ !

तर एउटा कुरा नझुक्किनुहोस्– तर्कले विचारलाई चुनौती दिन्छ; गालीले व्यक्तिलाई । तर्कमा प्रमाण चाहिन्छ; गालीमा केवल आवेग भए पुग्छ । तर्क गर्न अध्ययन, धैर्य र सोच चाहिन्छ; गाली गर्न भने रिस, अहंकार र अपमानजनक शब्दको भण्डार भए पुगिहाल्छ । त्यसैले हामी सबै गाली गर्न योग्यमात्र होइन; आवश्यक परे यसमा ‘विशेषज्ञ’ बन्न सक्ने सम्भावना पनि बोकेर हिँडेका छौँ ।

गालीगलौज गर्न तपाईं सीपालु नै हुनुहुन्छ होला । हुनुहुन्न भने आज गालीबारे छोटो लेख पढौँ ।

गाली अर्को व्यक्ति वा समूहलाई अपमानित, होच्च्याउने, तुच्छ देखाउने, तिरस्कार गर्ने वा चोट पु¥याउने उद्देश्यले प्रयोग गरिने अशिष्ट, अपमानजनक, अश्लील वा आक्रामक शब्द तथा अभिव्यक्ति हो । यसको उद्देश्य प्रायः रिस, घृणा, कुण्ठा वा असन्तुष्टि व्यक्त गर्नु र अर्काको आत्मसम्मानमा चोट पु¥याउनु हुन्छ । गाली शब्दमै सीमित हुँदैन; व्यंग्य, अपमानजनक उपनाम, हाउभाउ वा सार्वजनिक रूपमा कसैलाई नीच देखाउने व्यवहारले पनि त्यो काम गर्न सक्छ ।
गाली गर्न आमनेसामने हुनु आवश्यक छैन । चर्को स्वर चाहिँदैन; अनुहारमा रिस र क्रोध देखाउन पनि पर्दैन । विषयसँग प्रत्यक्ष सम्बन्ध हुनु त झन् आवश्यक छैन । हातमा मोबाइल र सामाजिक सञ्जालको खाता भए पुग्छ । स्क्रिनको पछाडि बसेर आफूले नचिनेको मानिसलाई समेत क्षणभरमै चरित्रहीन, देशद्रोही, मूर्ख, भ्रष्ट वा अरू जे मन लाग्यो त्यही घोषणा गर्न सकिन्छ । प्रमाण खोज्नुपर्ने झन्झट पनि छैन–कमेन्ट बक्स खुला छ ।

खडग पाण्डे

गालीमा दक्ष हुन विवेकलाई केही समयका लागि बिदा दिए पुग्छ । राजनीतिक आदर्श र दर्शनलाई तिलाञ्जली दिनु अझ उपयोगी हुन्छ । कुनै नेता, दल वा समूहको अन्धसमर्थक बनेपछि गालीको अभ्यास झन् सजिलो हुन्छ । आफ्ना पक्षका गल्तीलाई आँखा चिम्लेर बचाउ गर्ने र विरोधीका सामान्य कमजोरीलाई पहाड बनाएर प्रस्तुत गर्ने कला सिकेपछि ‘कट्टर समर्थक’को प्रमाणपत्र पनि आफैँ बाँड्न सकिन्छ । कट्टर ‘झोले’मा आफ्नो नाम लेखिन्छ ।
विचार र तर्कको ठाउँमा अहंकार, आरोप र चर्को स्वरले सिंहासन जमाउन थाल्छ । आफू असल, बुद्धिमान् र सही भएको प्रमाणित गर्न राम्रो काम गर्नुभन्दा अरूको खुट्टा तान्नु सजिलो लाग्छ । आफ्ना कमजोरी ढाक्न अरूको गल्ती खोजिन्छ; आफ्ना असफलता लुकाउन विरोधीको असफलता उछालिन्छ ।

तर्क कमजोर भएपछि आवाज चर्किन्छ; प्रमाण सकिएपछि आरोप आउँछ र अन्ततः गालीले माइक समाउँछ । त्यसपछि पूर्ण दीक्षित भइन्छ ।

राजनीतिमा त यो प्रवृत्ति झन् रमाइलो देखिन्छ । राजनीतिक योग्यता अब नीति बनाउने, विचार प्रस्तुत गर्ने वा जनताको समस्या समाधान गर्ने क्षमताले मात्र नापिन्न । कार्यकर्ता कति कट्टर छ भन्ने कुरा उसले आफ्नो नेताको नीति कति बुझेको छ भन्नेभन्दा विरोधीलाई कति तल्लो स्तरमा झरेर गाली गर्न सक्छ भन्ने कुराले निर्धारण गर्न थालेको छ ।

नेताका लागि राजनीतिक दर्शन, विचार र कार्यक्रमभन्दा विरोधीलाई कति खुइल्याउन, सत्तोसराप गर्न वा बदनाम गर्न सकिन्छ भन्ने कुरा बढी उपयोगी हतियार बन्न थालेको छ । आफ्ना कमजोरी र असफलताको हिसाब राख्नुभन्दा विरोधीका कमजोरी खोजेर बजारमा छरिदिनु नै राजनीतिक दक्षताको प्रमाण बन्न थालेको छ ।

हुँदा हुँदा गाली गर्नका लागि ‘साइबर सेना’ नै परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । स्वार्थसिद्धिका लागि आवश्यक परे सँगै स्वर्ग जाने टिकटदेखि नर्कको सहयात्रासम्म बुक गर्न पनि नेताहरू तयार देखिन्छन् ।

अंग्रेजी उखान छ–जब तपाईं मूर्खसँग विवाद गर्नुहुन्छ, त्यहाँ दुई जना मूर्ख हुन्छन् । सामाजिक सञ्जालको बहस हेर्दा त यो संख्या ज्यामितीय गतिमा बढिरहेको जस्तो देखिन्छ– दुईबाट चार, चारबाट आठ, आठबाट सोह्र, सोह्रबाट बत्तीस !
कुनै सार्वजनिक पदमा रहेका व्यक्ति–चाहे सरकारमा होस् वा विपक्षमा; पाता कस्ने, खुट्टा भाँच्ने, डडेल्नो सेक्ने, च्यापु झार्ने, नली हाड ठुन्क्याउने, दाँत झार्ने, छाला काढ्ने, नाकको डाँडी भाँच्ने, ठेगान लगाउने जस्ता अभिव्यक्ति दिएको सुन्न पाइन्छ । यी गालीमात्र होइनन्; धम्कीको भाषासमेत हुन् ।

 विचारको बहस हराउँदै छ; तर्कको अन्तिम संस्कार हुँदै छ । हामी सबै हातमा फूल होइन; गालीको माला बोकेर अन्तिम यात्रामा लामबद्ध छौँ ।

राजनीति विचार, नीति र संवादको क्षेत्र हुनुपर्ने हो; त्यहीँ गाली र धम्कीलाई ‘वैचारिक हतियार’ बनाउने अभ्यास देखिनु विडम्बना हो । सामाजिक सञ्जालमा असहमतिको जवाफ तर्कले दिनुपर्ने ठाउँमा गालीगलौज, छाडा भाषा, व्यक्तिगत आक्रमण, चरित्रहत्या, लाञ्छना, अपमानजनक टिप्पणी र घृणात्मक अभिव्यक्ति सामान्य बन्दै गएको देखिन्छ । विचारको ठाउँमा गाली, प्रमाणको ठाउँमा आक्षेप र असहमतिका ठाउँमा चरित्रहत्या आउन थालेपछि बहस संवादबाट दुर्वचनतर्फ सर्न थाल्छ ।

हामीले पनि चलनचल्तीको ‘ट्रेन्ड’ लाई छाड्यौ भने पछि परिन्छ । त्यसैले आउनुहोस्; गाली गर्न सुरु गरौँ !

अझ रोचक कुरा के छ भने, सामान्य प्रश्नले पनि क्षणभरमै व्यक्तिगत आक्रमणको रूप लिन सक्छ । फरक विचार राख्ने व्यक्ति तत्काल ‘विरोधी’ बन्न सक्छ र त्यसपछि बहस विषयमा होइन, उसको चरित्र, नियत, पहिचान वा निजी जीवनमा केन्द्रित हुन थाल्छ ।

मानिसले अरूलाई किन गाली गर्छ ?

मनोविज्ञानको दृष्टिले गाली केवल खराब शब्दको प्रयोग होइन; यो मानिसको भावना, असुरक्षा, निराशा, शक्ति प्रदर्शन र सामाजिक व्यवहारसँग जोडिएको प्रतिक्रिया पनि हुन सक्छ । सबैले एउटै कारणले गाली गर्दैनन् । कतिपय मानिस अरूलाई गाली गरेर आफू शक्तिशाली देखिन खोज्छन् । विडम्बना के छ भने बाहिरबाट देखिएको त्यो ‘शक्ति’ कहिलेकाहीँ भित्र लुकेको असुरक्षाको आवाज पनि हुन सक्छ । आफ्नो तर्क बलियो बनाउन नसके अरूलाई कमजोर देखाउने, आफ्नो विचार स्थापित गर्न नसके अरूको चरित्रमाथि प्रहार गर्ने र आफू ठूलो देखिन नसके गालीको उचाइ बढाउने–यो आत्मविश्वासको होइन; अपरिपक्वताको एउटा रूप हुन सक्छ ।

कतिपयसँग तर्कको भण्डार हुँदैन; गालीको गोदाम भने भरिभराउ हुन्छ । तपाईंको के छ कुन्नि ?

एकथरी मानिस आफूले सोचेको कुरा, मानेको विश्वास र गरेको निर्णयलाई नै अन्तिम सत्य ठान्छन् । आफूलाई बाठो, ज्ञानी र सर्वगुणसम्पन्न ठान्ने तर असहमतिलाई सहन नसक्ने प्रवृत्ति उनीहरूमा हुन्छ । आफू सही भएको विश्वास यति बलियो हुन्छ कि फरक मतलाई विचारको भिन्नता होइन; आफ्नै अस्तित्वमाथिको चुनौती ठानिन्छ । मलाई विश्वास छ, तपाईं यो श्रेणीमा पर्नु हुन्न ।

रिसका बेला भावनात्मक प्रतिक्रिया तीव्र हुँदा शान्त भएर सोच्ने, परिस्थितिलाई तौलने र शब्द छनोट गर्ने क्षमता कमजोर हुन सक्छ । भावनाले विवेकमाथि दबाब बढाउँदा तत्काल प्रतिक्रिया दिने प्रवृत्ति हावी हुन्छ । त्यसैले मनमा उठेको आक्रोश, असन्तुष्टि वा कुण्ठा सोचेर–सम्झेर व्यक्त गर्नुभन्दा पहिले नै गालीका रूपमा बाहिर निस्कन सक्छ।

काम बिग्रिनु, अपेक्षाअनुसार परिणाम नआउनु, आर्थिक समस्या, पारिवारिक वा सम्बन्धगत तनाव, सामाजिक दबाब, राजनीतिक असन्तुष्टि तथा आफूले चाहेको कुरा पूरा हुन नसक्दा मानिसमा निराशा र तनाव बढ्न सक्छ । लामो समयसम्म जम्मा भएको असन्तुष्टि र कुण्ठाले भावनात्मक दबाब सिर्जना गर्छ । यस्तो अवस्थामा गाली तत्कालीन निकास बन्न सक्छ ।

समस्या समाधान गर्ने वा तनावको वास्तविक कारण पहिचान गर्नेभन्दा रिस अर्को व्यक्ति, समूह वा परिस्थितिमाथि पोख्न सजिलो लाग्न सक्छ । असफलताको दोष अरूमाथि थोपर्नु, कुण्ठालाई कटु शब्दमार्फत् बाहिर निकाल्नु र अरूलाई होच्याएर केही क्षणका लागि हलुका महसुस गर्नु तनावको अपरिपक्व निकास बन्न सक्छ । त्यसैले आउनुहोस्; गाली गर्न सुरु गरौँ ।

आफूलाई कमजोर, अपमानित, असहाय वा नियन्त्रण गुमाएको महसुस भएको अवस्थामा गाली गर्दा केही क्षणका लागि परिस्थिति नियन्त्रणमा लिएको जस्तो अनुभूति हुन सक्छ । त्यसैले कहिलेकाहीँ गालीको वास्तविक लक्ष्य गाली खाइरहेको व्यक्तिमात्र हुँदैन; त्यसको पछाडि गाली गर्ने व्यक्तिको आफ्नै निराशा, कुण्ठा, असन्तुष्टि र असुरक्षाको ठूलो थुप्रो पनि लुकेको हुन सक्छ ।

राजनीति, धर्म, विचारधारा वा अन्य समूहगत विवादमा मानिसले अर्को समूहलाई फरक विचार राख्ने पक्षका रूपमा होइन; शत्रुका रूपमा हेर्न थालेपछि ‘हामी सही, उनीहरू गलत’ भन्ने मानसिकता बलियो हुँदै जान्छ । तर्कभन्दा समूहप्रतिको निष्ठा ठूलो बन्न पुग्छ । अर्को पक्षको विचारको जवाफ दिन नसक्दा उसको चरित्र, नियत वा पहिचानमाथि प्रश्न उठाइन्छ । गालीगलौज र अपमानजनक भाषा प्रयोग गर्नु पनि आफ्नै समूहप्रति वफादारी देखाउने सजिलो माध्यम बन्न सक्छ ।
सामाजिक सञ्जालमा त दृश्य झन् रोचक हुन्छ–आफ्नो पक्षमा तथ्य कमजोर भए पनि विपक्षीलाई दुई–चार गाली गरेपछि आफूलाई ‘कट्टर समर्थक’ प्रमाणित गर्न सकिने !

विचारको प्रतिवाद गर्न नसके व्यक्ति नै प्रतिवादको विषय बन्ने र असहमतिको जवाफ तर्कले होइन, अपमानले दिने चलन बढ्दै जान्छ । अन्ततः ‘हामी’लाई ठूलो देखाउन ‘उनीहरू’लाई होच्च्याउनैपर्ने मानसिकताले बहसलाई विचारको आदानप्रदानभन्दा समूहगत भिडन्तमा रूपान्तरण गर्छ ।

अन्ततः विचारको बहस हराउँदै छ; तर्कको अन्तिम संस्कार हुँदै छ । हामी सबै हातमा फूल होइन; गालीको माला बोकेर अन्तिम यात्रामा लामबद्ध छौँ । तपाईंलाई फूल चाहिन्छ कि गाली ? ताली चाहिन्छ कि गाली ? त्यो अरू कसैले होइन, हाम्रै सोच, शब्द र व्यवहारले तय गर्छ । हामी अरूलाई के दिन्छौँ; त्यही कुरा कुनै न कुनै रूपमा फर्किएर हामीकहाँ पनि आउन सक्छ ।
त्यसैले रोजाइ तपाईंको हो–गाली खाने कि ताली पाउने ? जे रोज्नुहुन्छ; त्यसको जिम्मेवारी पनि तपाईंको आफ्नै हो ।
गलकोट–६, चरौदी, बागलुङ

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->