शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विभाजनको दिशातिर कांग्रेस

विभाजनको दिशातिर कांग्रेस

छुट्टै अधिवेशनतिर देउवा पक्ष, संस्थापनको अधिवेशन असोज ३ गतेबाट


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८३, मंगलबार

काठमाडौं/नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले असोज ३ गतेदेखि सुरु हुने भनिएकोसंस्थापनको महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिल गरेको छ ।

समिति संयोजक डाशशांक कोइरालाले पार्टीभित्रको वर्तमान विवाद कुनै व्यक्ति वा समूहको विषयमात्र नभई कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको उल्लेख गरे ।

महाधिवेशनका नाममा पार्टीमा थप विवाद सिर्जना नगर्न र संगठनात्मक एकतालाई क्षति नगर्न आग्रह गर्दै समितिले सर्वाेच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विषय विचाराधीन रहेकाले एकतर्फी रूपमा अधिवेशन र महाधिवेशनको कार्यतालिका अघि बढाउनु उचित नहुने जनाएको छ ।समितिले असोज ३ गतेबाट विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको ‘तथाकथित अधिवेशन र महाधिवेशन’मा सहभागी नहुन पनि आग्रह गरेको छ ।

१४औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा अधिवेशनमा सहभागी भई मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आह्वान गरेको छ ।

समितिका संयोजक कोइरालाले पार्टीभित्रको विवाद कुनै व्यक्ति वा नेतासँग जोडिएको विषय नभएको बताएका छन् । आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताका आधारमा महाधिवेशन सम्पन्न गर्न प्रयास गरे पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण नगरिएको उनले बताए ।

संस्थापनइतर समूहकै नेता प्रकाशशरण महतले गगन थापालगायतका नेताले सहमतिको प्रयास नगरेको आरोप लगाएका छन् । उनले शेरबहादुर देउवा र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वसँग संवादको प्रयास नगरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचारमा बढी जोड दिइएको दाबी गरे ।

‘हामीले धेरै अघि नै समायोजन गरेर महाधिवेशनमा जाऊँ भनेका हौँ । कांग्रेस व्यक्तिगत निगाहले चल्दैन । अहिले पार्टीको घाउमा नून छर्किने काम भएको छ,’ महतले भने ।महतले कांग्रेसमा इतर समूहलाई तलदेखि माथिसम्म नेतृत्वमा आएको देख्न नचाहने प्रवृत्ति रहेको आरोपसमेत लगाए । अदालतको निर्णय पर्खिनुको सट्टा राजनीतिक सहमति गरेर अघि बढ्न सकिने अवस्था भए पनि त्यसतर्फ प्रयास नभएको उनको भनाइ छ ।

‘अदालतको प्रक्रियालाई नपर्खियौँ, राजनीतिक सहमति गरेर जाऊँ भन्न सकिन्थ्यो । तर उहाँहरूले सहमतिको बाटो बन्द गरेपछि असोज १५ देखि सुरु भएर मंसिर २१, २२ र २३ गते हुने महाधिवेशनमा सहभागी होऔँ भनेका छौँ,’ महतले भने ।

उनले अहिले अर्काे पार्टी बनाउन खोजिएको नभई १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वमै नयाँ महाधिवेशन गर्न लागिएको दाबी गरे ।‘हामीले अहिले अर्काे पार्टी बनाउन लागेका होइनौँ । १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वमा नयाँ महाधिवेशन गर्दैछौँ । यो महाधिवेशन निष्पक्ष हुन्छ र पार्टीका सबै साथीहरूको भावनालाई समेट्छ,’ उनले भने ।

महतले गगन थापाहरू ‘अपमानजनक बाटो’बाट अघि बढेकाले अब सहमतिको सम्भावना कठिन बनेको दाबी गरे । महाधिवेशनस्थगित गरेर एकताको महाधिवेशन गर्ने सहमति भए राजनीतिक विवादसमेत समाधान हुन सक्ने उनको दाबी छ । ‘महाधिवेशन कार्यक्रम स्थगित गरेर एकताको महाधिवेशन गरौँ भनेदेखि कुरा मिल्छ । त्यो कुरा नगरी सहमति हुन सक्दैन,’ महतले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->