बागलुङ/नेपाली कांग्रेसले १५ औं महाधिवेसनका लागि तयारी शुरु गरेको छ । असोज पहिलो सातादेखि तेस्रो साता सम्ममा वडादेखि केन्द्रीय तहसम्मको नयाँ नेतृत्व निर्माणका लागि महाधिवेसन हुँदैछ । गत पुसमा भएको विशेष महाधिवेसनबाट सभापति बनेका गगनकुमार थपाले एक वर्षभित्रै नियमित महाधिवेसन गरेर नयाँ नेतृत्व निर्माण गर्ने अभियान स्वरुप यो तयारी भएको हो ।
असोज ३ र ४ गते वडा अधिवेसन भइ औपचारिक शुरुवात हुने भएपछि कांग्रेसले ७७ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । जस अनुसार बागलुङमा अधिवक्ता शालिग्राम भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ । उनको नेतृत्वमा बुधबार औपचारिक रुपमा काम शुरु भएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।
महाधिवेसन तयारीका लागि बुधबार कांग्रेसले केन्द्रीय सदस्यहरु, पूर्व सभापतिहरु, पदाधिकारी र संघिय तथा प्रदेश सांसदको सहभागितामा औपचारिक बैठक बसेर विभिन्न निर्णय गरेको छ । बैठकले कार्यकर्तालाई महाधिवेसनमा सहभागि बन्न अपिल गरेको छ ।
नेपाली कांग्रेस बागलुङका कावा सभापति तारानाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सबै नेता कार्यकर्तालाई महाधिवेसनमा सहभागि हुन अपिल गर्ने निर्णय गरेको पार्टी सचिव हरिहर शर्माले जानकारी दिए । बैठकले वडामा असोज ३ गते नै वडा अधिवेसन गर्ने निर्णय गरेको हो । त्यस्तै अधिवेसनमा उमेदवारहरुले तडकभडक नगर्ने, प्रचार सामाग्रीहरुको प्रर्दशन नगर्ने र शान्तिपुर्ण रुपमा अधिवेसन गर्ने निर्णय भएको हो ।
बैठकमा सभापति जितबहादुर शेरचन सहभागि भएका थिएनन् । उनी कृष्णप्रसाद सिटौला पक्षका हुन् । निर्वतमान सभापति शेरबहादुर देउवा पक्षले अझै छुट्टै मितिमा नियमित महाधिवेसन गर्ने तालिका निकाले पनि देउवा पक्षका अधिकांसले गगन समूहलाई नै स्विकार गरेर लागेका छन् । सभापति थापाले तत्कालिन केन्द्रीय समितिका सबै सदस्यलाई मनोनित गर्ने निर्णय लिएपछि तत्कालिन कावा सभापति पूर्णबहादुर खड्कासहित नेताहरु सानेपास्थित केन्द्रीय कार्यालय पुगेर असोज ३ गतेकै अधिवेसनमा सहभागि बन्न लागेका छन् ।
बागलुङको बैठकमा पूर्व सभापतिमध्ये दिपेन्द्रबहादुर थापा र मणीभद्र शर्मा सहभागि थिएनन् । पूर्व सभापति हरिप्रसाद श्रेष्ठ र प्रकाश पौडेलले बैठकमा सहभागि भएर महाधिवेसनलाई सौहार्द बनाउन पहल गर्ने बताए । केन्द्रीय सदस्यहरु चम्पा खड्का, जगदिशचन्द्र उपाध्याय, भीम श्रीष र टेकराज पौडेल पनि बैठकमा सहभागि थिए ।
केन्द्रीय तहमा नेता शेखर कोइराला पक्षले तटस्थ बस्ने बताएको छ । यद्यपी फरक समूह कुनै हालतमा नआएपनि थापाले महाधिवेसन भने रोक्ने छैनन् । पार्टीको विधान अनुसार ४ वर्षको कार्यकाल सकिएर थपिएको १ वर्ष पनि सकिनै लागेकोले वैधानिकताको प्रश्नले महाधिवेसन गर्नैपर्ने अनिवार्यता आइलागेको हो ।
महाधिवेसन हुने भएपछि जिल्लामा कार्यकर्ताहरुको चहलपहल शुरु भएको छ । दशवटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाउने, वडा तहसम्मको अधिवेसन गर्ने र क्षेत्रीय प्रतिनिधि छनौट गर्ने कामले सबै कार्यकर्तामा उत्साह पनि थपेको छ । यद्यपी फरक कित्ताका कतिपय नेताहरु एकै ठाउँमा नआएका कारण कार्यकर्तामा अन्यौल छ । तर यसअघि देउवा पक्षमा खुलेका कतिपय नेता कार्यकर्ताहरु असोज ३ र ४ गतेको वडा अधिवेसनका लागि जान तयार भैसकेपछि कार्यकर्तामा उत्साह थपिएको हो ।
यसअघिको निर्वाचनमा देउवा पक्षबाट सभापति लडेका प्रदेश सभाका सदस्य द्रोण कुँवर समेत थापाको पक्षमा खुलेर लागिसकेका छन् । देउवा पक्षले खटाएको प्रतिनिधिमा भने पुर्व सभापति मणीभद्र शर्मा र पुर्व आमन्त्रित सदस्य किरणराज पौडेल छन् । पौडेल मुस्ताङ र कँडेल तनहुँमा खटिएका छन् ।
नेपाली कांग्रेसले यो पटक वडा, गाउँ तथा नगरको अधिवेसनसँगै क्षेत्रीय र प्रदेश अधिवेसन गर्नेछ । त्यसबाट नयाँ नेतृत्व छनौट भइ महाधिवेसनका लागि प्रतिनिधि समेत निर्वाचित बन्नेछन् । क्षेत्रीय अधिवेसनबाट आउने प्रतिनिधिले महाधिवेसनमा भाग लिने भएकोले तत्कालका लागि कांग्रेसले जिल्ला अधिवेसन नगर्ने निर्णय गरेको छ । महाधिवेसनपछि जिल्लाको नेतृत्व फेरिने बताइएको छ ।
कांग्रेसको विधान अनुसार प्रत्येक संघिय निर्वाचन क्षेत्रबाट १० जना खुलासहित विभिन्न क्षेत्रगत गरी २४ जना महाधिवेसन प्रतिनिधि छनौट हुनेछन् । क्षेत्रीय सभापति पदेन सदस्य रहेर महाधिवेसन प्रतिनिधि बन्दा एक निर्वाचन क्षेत्रबाट २५ जनाले महाधिवेसनमा भाग लिन पाउने व्यवस्था छ । यो पटक ३० वर्ष उमेर समूहबाट पनि प्रतिनिधि बन्ने गरी व्यवस्था गरिएको छ । वडादेखि पालिका तहसम्म पनि यो विधि रहेकोले हजारौं युवाले पहिलो पटक नेतृत्वमा जाने अवसर पाउने भएका हुन् ।
कार्यकर्ताहरुमा चहलपहल बढेपछि टोल र चोकमा महाधिवेसनको नेतृत्वबारे चर्चा चलेको छ । ‘जे जस्तो भएपनि यो पटकको महाधिवेसनमा गगनकुमार थापालाई सभापति बन्न कसैले रोक्न नसक्ने भयो’ स्थानीय कार्यकर्ता सुजन सापकोटाले भने, ‘अन्य क्षेत्रमा समावेशी र सबैको सहभागिता बन्ने छ ।’ तर उनले गगन थापा अर्कोपटक भने नेतृत्वमा नआउने गरी महाधिवेसन हुने उनले बताए । त्यसपछिको समयमा अन्य नेताहरु नेतृत्वमा आउनुपर्ने अर्थात नियमित रुपमा नेतृत्व परिवर्तनको नारा यो महाधिवेसनले लगाउने उनले बताए ।
अर्का सहभागि खुमराज पराजुलीले महाधिवेसनका लागि कार्यकर्तामा उत्साह थपिएको तर सबै एकता हुन नसकेको बताए । उनले समय र मौषमले बैठकमा आउन नसकेका र ग्रामीण क्षेत्रमा रहेका कार्यकर्तालाई समावेश गरेर महाधिवेसन गर्न सुझाए । पार्टीको बैधानिकताको प्रश्न भएकोले सबैले महाधिवेसन सम्पन्न गर्नै पर्ने र छुटेका साथीहरु पनि एकै ठाउँमा आउनुपर्ने आवश्यकता औल्याए । बैठकमा महाधिवेसनको आवस्यकताबारे सबै सहमत भएको तर गुट उपगुट र झुण्डमा बस्नेहरुले एउटै छातामा बसेर महाधिवेसन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।





