काठमाडौं / नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान निर्माणमा संलग्न दललाई विभाजन गर्न खोजिएको उल्लेख गर्दै सभापति गगन थापालाई सचेत गराएका छन्।
पूर्वकार्यवाहक सभापति खड्काले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सभापति थापालाई सचेत गराएका हुन्। उनले दुई वटा महाधिवेशन हुँदा कांग्रेस विभाजन हुने बताएका छन्।
‘दुई वटा अलगअलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न सक्ने छैन,’ खड्काले भनेका छन्, ‘मेरो अन्तरमनले भन्छ कांग्रेस पार्टीको विभाजनको केही महिनाभित्र नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत विशेषगरि संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुनेछन्, गरिनेछन्।’

कांग्रेस सभापति थापाले बिहीबार नै केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक राखेका थिए। बैठकमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका पनि केही नेता सहभागी भएका थिए।
बैठकमा सभापति थापाले कांग्रेसको १५औं महाधिवेशन अगाडि बढाउने दृढता व्यक्त गरेका थिए। कांग्रेसले असोज ३ गते वडा अधिवेशन गर्दै छ भने पूर्वसभापति देउवा पक्षले असोजमा छुट्टै अधिवेशन गर्ने तय गरेको छ।
दुवै पक्षले छुट्टाछुट्टै अधिवेशन गर्ने भएपछि नेता डा. कोइरालाले पनि बिहीबार प्रेस विज्ञप्ति जारी गरेर कतै नलाग्ने बताएका थिए। उनले पनि कांग्रेस विभाजन गर्ने चलखेल भइरहेको जिकिर गरेका थिए। डा. कोइरालाले भनेका थिए, ‘दुःखका साथ भन्नुपर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन्, मलाई थाहा छैन।’
यस्तो परिस्थितिबीच पूर्वकार्यवाहक सभापति खड्का पनि खुलेर बोलेका हुन्। प्रायः सन्तुलित अभिव्यक्ति दिने गरेका खड्काले यस पटक भने कांग्रेस विभाजनको चलखेल भइरहेको जिकिर गरेका छन्।
खड्काले सभापति थापालाई दुई वटा सुझाव दिएका छन्। ‘असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरि घोषणा गरेको १५औं अधिवेशनको कार्यतालिका स्थगन गरि केही समयको लागि सार्नुस्,’ उनको अर्को सुझाव छ, ‘तपाईंले पार्टीमा आज गर्नु भएको निर्णयको जगमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्षनेता शेरबहादुर देउवाज्यू अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता-संवाद तत्काल प्रारम्भ गर्नुस्।’
यी दुई कदम चाल्दा कांग्रेसको एकता अझै सम्भव भएको उनले बताएका छन्। अहिले ध्यान नदिएमा कांग्रेस विभाजन हुने र त्यसपछि अन्य दललाई पनि विभाजन गरिने उनको भनाइ छ।
त्यसपछि देशमा अनेक द्वन्द्व चर्काइने उनको भनाइ छ। ‘विगतका घटनाक्रम, लक्षणहरू र विविध खालका चलखेलले संकेत गर्दै छन्- किन हो किन हो, मेरो अन्तरआत्माले भनिरहेको छ- देशमा जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसंग्राम मच्चिने छ, मच्चाइनेछ र हाम्रो प्यारो देश भदौ २४ लाई पनि बिर्साउने गरि भिषण रणसंग्रामको दुश्चक्रमा परिणत हुने प्रवल-प्रवल सम्भावनातिर उन्मुख देखिन्छ।’
उनले तत्काल साहसिक कदम चाल्न आग्रह गरेका छन्। आफू महत्वाकांक्षाबाट मुक्त भएर जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। अदालतको निर्णयबाट पनि कुनै समस्या नआउने बचन दिएका छन्।
‘गगनजी, म विश्वासका साथ भन्छु- कानुन, अदालको निर्णय, पार्टी विधान कुनै कुराले तपाईंलाई कुनै समस्या र अप्ठेरो पर्ने छैन, पर्दैन ढुक्क हुनुस्।’





