बागलुङ/नेपाली कांग्रेसको १५ औं महाधिवेसनअन्र्तगत पहिलो दिन वडा अधिवेसन शुरु भएको छ । शनिबार र आइतबारका लागि तोकिएको वडा अधिवेसनअन्र्तगत छिटफुट बाहेक सबै वडामा अधिवेसन शुरु भएको हो । कतिपय वडामा शनिबारै अधिवेसन सम्पन्न भएको छ भने केहीमा आइतबारका लागि सरेको छ ।
बिधानअनुसार केन्द्रीय सभापति समेत आफ्नै वडामा पुगेर क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेसनमा जानुपर्ने प्रावधान अनुसार बागलुङका केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित हुन आएका थिए । कांग्रेस केन्द्रीय सदस्य चम्पा खड्का बागलुङ नगरपालिका वडा नं. २ बाट, अर्का केन्द्रीय सदस्य भीम श्रीष जैमिनी नगरपालिका वडा नं. १० बाट र अर्का केन्द्रीय सदस्य टेकराज पौडेल निसीखोला गाउँपालिका वडा नंं ४ बाट निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
अर्का केन्द्रीय सदस्य जगदिशचन्द्र उपाध्यायको नामाबली रहेको बागलुङ नगरपालिका वडा नं. ३ को अधिवेसन जारी छ । आइतबार सम्ममा अधिवेसन सकिने गरी कार्यतालिका बनेको वडा सभापति रघुराम भारीले बताए ।
नेपाली कांग्रेसका पूर्वसभापति मणीभद्र शर्मा आफ्नो वडा काठेखोला गाउँपालिका वडा नं. ८ लेखानी गएनन् । उक्त वडामा निर्विरोध रुपमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । अर्का पुर्व सभापति दिपेन्द्र बहादुर थापाको बागलुङ नगरपालिका वडा नं. ११ मा शनिबार अधिवेसन हुन सकेन । नामावली अद्यावधिक नभएकोले कार्यक्रम सरेको हो ।
पुर्व सभापति हरिप्रसाद श्रेष्ठको बागलुङ नगरपालिका वडा नं. ३ मा अधिवेसन जारी छ । वर्तमान सभापति जितबहादुर शेरचनले महाधिवेसन प्रकृया अगाडि नबढाएको भन्दै केन्द्रीय समितिले कावा सभापतिको नेतृत्वमा अधिवेसन अगाडि बढाएको छ ।
कावा सभापति तारानाथ पौडेल निसीखोला गाउँपालिका वडा नं. ४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिका पदाधिकारीहरु आफ्नो वडाबाट निर्विरोध रुपमा चयन भएका छन् । केही वडामा आइतबार अधिवेसन सम्पन्न हुनेछ ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेसहित स्थानीय तहका पदाधिकारीहरु आफ्नो वडामा निर्विरोध क्षेत्रीय प्रतिनिधि बनेका छन् । क्षेत्रीय प्रतिनिधि बनेपछि मात्र वडादेखि माथीका अधिवेसनमा भाग लिन पाउने प्रावधान छ ।
वडा अधिवेसन सम्पन्न भएपछि पालिका, प्रदेश क्षेत्र र क्षेत्रीय अधिवेसन नियमित रुपमा संचालन हुनेछ । क्षेत्रीय अधिवेसनले महाधिवेसन प्रतिनिधि चयन गर्नेछ ।
कांग्रेसको बिधानमा हरेक केन्द्रीय समितिको पदावधि ४ वर्षको हुने र एक वर्ष मात्र थप्न मिल्ने प्रावधान छ । यो अनुसार आगामी मंसिर मसान्त सम्ममा ५ वर्ष पुरा हुने भएकोले कानूनी व्यवधान हटाउन महाधिवेसन गरिएको हो । त्यसपछि मात्र जिल्ला र प्रदेश अधिवेसन हुने कांग्रेसले जनाएको छ ।





