सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

केन्द्रीय कमिटीमा नेतृत्व परिवर्तनको कुरा उठेपछि ओली बने आक्रामक

केन्द्रीय कमिटीमा नेतृत्व परिवर्तनको कुरा उठेपछि ओली बने आक्रामक

बैठकभित्र मोबाइल चलाउन, हेर्न, भिडियो खिच्न, रेकर्ड गर्न वा लाइभ गर्न रोक लगाइएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८३, सोमबार

काठमाडौं / नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर बहस चर्किरहेका बेला सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीको प्रस्तुति पनि आक्रामक देखिएको छ ।

पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला ओलीले त्यस्ता गतिविधिप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टीभित्रैबाट नेतृत्वविरुद्ध बोल्नेहरूलाई कडा चेतावनी दिएका छन् ।

ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूलाई हटाउन माग गर्दै उठेको आवाजप्रति असन्तुष्टि जनाएका हुन् । उनले पार्टीमाथि ‘फासीवादी हमला’ भइरहेको दाबी गर्दै यस्तो अवस्थामा पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न सक्रिय भएको आरोप लगाए ।

‘फासीवादी हमलाको प्रतिकार गर्न एकजुट हुनुपर्ने हो । पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्दत भए,’ ओलीले भने ।

उनले पार्टीका आन्तरिक विषय पार्टीभित्रै छलफल गर्नुपर्ने भन्दै बाहिर गएर नेतृत्वविरुद्ध बोल्ने र विपक्षीलाई खुसी पार्ने गतिविधि नगर्न नेताहरूलाई चेतावनी दिए ।

‘पार्टीमा हुनुहुन्छ भने यहीँ छलफल गर्नुस् । तर बाहिर गएर जग हँसाइ गर्न पाइँदैन, न्यायाधीश हुन पाइँदैन । विपक्षीलाई खुसी पार्ने काम गर्न पाइँदैन,’ उनले भने ।

एमालेभित्र गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि नेतृत्व र पार्टी पुनर्गठनको बहस चर्किएको छ । महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षका नेताहरूले नेतृत्व हस्तान्तरणको विषय उठाउँदै आएका छन् ।

तर, ओलीले भने नेतृत्व परिवर्तनको आवाजप्रति असहमति जनाउँदै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले एमालेमाथि राष्ट्रियताको पहरेदार भएकै कारण हमला भएको दाबी गर्दै पार्टीमाथि झुटा लाञ्छना लगाएर आक्रमण गरिएको बताए ।

निर्वाचन पराजयको समीक्षा गर्नुपर्ने ओलीको भनाइ

ओलीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले व्यहोरेको पराजयको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

‘हामीले फागुन २१ को निर्वाचनमा पराजय किन भोग्यौँ ? त्यसका कारण के हुन् ? तिनको कारण के हो ?’ उनले प्रश्न गरे ।

उनले निर्वाचनको छ महिनाभित्रै केन्द्रीय कमिटी बैठक बस्नुपर्ने भए पनि त्यसो हुन नसकेको स्वीकार गरे । दोस्रो बैठकको आठ महिनापछि तेस्रो बैठक बसिरहेको भन्दै उनले बैठकमा भएको ढिलाइलाई स्वाभाविक मान्न नसकिने बताए ।

बैठक ढिला हुनुमा पछिल्लो राजनीतिक परिस्थिति र व्यक्तिगत कारणसमेत जोडिएको ओलीको भनाइ छ । बुवाको निधन, गिरफ्तारी तथा स्वास्थ्य समस्याका कारण आफू अलमलमा परेको उनले बताए ।

बैठकमा ओलीको कडा अनुशासन

नेतृत्वमाथि प्रश्न उठिरहेका बेला बसेको केन्द्रीय कमिटी बैठकलाई ओलीले कडा अनुशासनमा सञ्चालन गर्ने संकेतसमेत दिएका छन् ।

उनले बैठकमा मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिँदै मंगलबारदेखि बैठक हल बाहिरै मोबाइल राख्ने व्यवस्था गरिने बताए । बैठकभित्र मोबाइल चलाउन, हेर्न, भिडियो खिच्न, रेकर्ड गर्न वा लाइभ गर्नसमेत रोक लगाइएको छ ।

यस्तै, बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ । निर्धारित समयमा धारणा राख्न नभ्याउनेले लिखित रूपमा सुझाव दिन सक्ने व्यवस्था गरिएको छ । बैठकका क्रममा आफ्नो आसन छाड्दा र बोल्दा समेत अध्यक्षको अनुमति लिनुपर्ने ओलीले बताएका छन् ।

फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमाले केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा भएको पराजय, पार्टी पुनर्गठन, नेतृत्वको प्रश्न तथा बदलिएको राजनीतिक परिस्थितिबारे छलफल हुँदैछ । बैठक असोज ७ गतेसम्म चल्ने तयारी छ ।

यसअघि पार्टी पुनर्गठन कार्यदलले नेतृत्व पुनर्गठनसहितका विषयमा फरक-फरक धारणा समेटिएका प्रतिवेदनमाथि छलफल गरेको थियो । तत्काल अध्यक्ष परिवर्तन नगरी पार्टी पुनर्गठनको विषयलाई आगामी विधान महाधिवेशनमा लैजाने गरी साझा प्रतिवेदन बनाइएको विवरणसमेत सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->