कञ्चनपुर, १६ चैत – बेदकोट नगरपालिका– १ चम्फापुरकी एक महिलाको नदीमा डुबेर मृत्यु भएको छ। स्थानीय २० वर्षीया रीना रानाको शनिबार राधा नदीमा डुबेर मृत्यु भएको हो। नदीमा लुगा धुने क्रममा पानीमा डुब्न पुगेका कारण उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। छारे रोगबाट पीडित रहेकी ती महिला लुगा धुने क्रममा नदीमा डुबेकी थिइन्।
गत वर्षको पुसमा विवाह गरेकी ती महिला गर्भवती रहेको उनका ससुरा भजौरा रानाले जानकारी दिए। ‘बुहारी गर्भवती थिइन्, छारे रोगको औषधि सेवन गर्दै आएकी थिइन्’, उनले भने। स्थानीयवासीले बुहारी डुबेको खबर गरेपछि नदीमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारेको उनले बताए। मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ।





