पोखरा,२९ बैशाख -नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले कांग्रेसलाई गाली गरेर देशमा सम्मृद्धि नआउने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले कांग्रेस राजा फर्काउन लागेको छ भन्ने गाली गरेर आत्मसन्तुष्टी लिएको आरोप पनि लगाए ।
नेता पौडेल शनिबार नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटले शनिवार कास्कीकोटमा आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदनप्रदान, सम्मान तथा जनजागरण सभामा बोल्दै थिए । ‘आफू कसरी सफल हुने, जनताको अपेक्षालाई कसरी पूरा गर्ने भन्ने बाटोमा प्रधानमन्त्री लागेका छैनन्, कुर्सीमा बसेर कत्ति पनि मर्यादा पालना नगरी तथानाम बुद्धिजीवि, पत्रकार र खेलाडी समेतलाई गालीगर्दै हिड्नुभएको छ’, पौडेलले भने,‘यही कारणले सरकार र सरकारको नेतृत्वकर्ता प्रधानमन्त्रीका गलत कार्यको विरुद्ध कांग्रेस जनताको माझमा आएको हो ।’
उनले देशमा आर्थिक सम्मृद्धिको नारा बोकेर हिँडेको केपी ओली नेतृत्वको सरकारको नालायकीपन र ज्यादतीकोविरुद्ध नेपाली कांगेसले हिमाल, पहाड तराईमा जनजागरण अभियान चलाएको पनि जिकिर गरे । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘मेरो सरकार’ भन्न लगाएर गल्ती गरेको बताए ।
नेता पौडेलले देशमा कुनैपनि परियोजना तोकिएको समयमा पूरा हुन नसकेकोतर्फ संकेत गर्दै अगाडि भने,‘ समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्छु, समयमा सक्नेलाई पुरस्कृत गर्छु भनेर गृहमन्त्रीले भने तर उनले केही गरेनन्, अहिले किन चुपचाप बसेको हो ?’ उनले यो प्रश्नको जवाफ गृहमन्त्रीले जनतासामु दिनुपर्ने माग पनि गरे ।
‘नेपाल टेलिकमले फोर जि सेवा दिने भनेर काम शुरु गरेको छ, १८ अरबको लागत लाग्ने टेण्डरमा काम दिएको छ, उही प्रकृतिको काम एनसेलले ६ अरबमा शुरु ग¥यो’,पौडेलले भने,‘नेपाल टेलिकमको १२ अरब कहाँ गायब भयो ? कमिसन कस्ले खायो ? सरकारले किन भन्न सक्दैन ?’
नेता पौडेलले निर्वाचनपछि बनेको सरकारसँग धेरै अपेक्षा भए पनि उल्टो काम गरेको, शान्ति सुरक्षा नभएको भ्रष्टाचार र अनियमितता बढेकोले अन्ततः संविधान, व्यवस्थामा मै असर गर्न थालेको जिकिर गरे । देशमा केहि नहुनुको कारण संविधान, संघीय व्यवस्था नभई केपी ओली र नेकपाका नेता नालायक हुनु नै भएको उनको जिकिर थियो । निर्मला पन्तको हत्यारालाई पक्राउ गरे सरकार नै हल्लिने डरले सरकारले कारबाहि गर्न नसकेको आरोप पनि उनले लगाए । पोखरा वडा नं २४ कास्कीकोटका सभापति प्रतापबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेत्री शारदा पौडेल, डा.यमनाथ तिमिल्सिना, जिल्ला सहसचिव भरतबहादुर अधिकारी, तरुण दल कास्कीका सभापति मनोज गुरुङ लगायतले वोलेका थिए ।





