बागलुङ,११ जेठ – नेपाली कांग्रेसको जागरण अभियान अन्र्तगत शुक्रवार बुर्तिवाङमा आमसभा सम्पन्न भएको छ । आमसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री शंकर भण्डारीले बर्तमान सरकारले नेपालको लोकतन्त्र खतरामा पारेको भन्दै अब कांग्रेस जागेर मात्र बचाउन सक्ने दावी गरे । उनले दुइ तिहाईको सरकार कमजोर हुँदा नेपालमा बिदेशी चलखेल बढ्ने भन्दै जनताको मन जितेर काम गर्नुपर्नेमा जनविरोधी काम गरिरहेको आरोप समेत लगाए ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवाई गरेको कांग्रेसले जनतालाइ संविधान पनि बनाएर दिएको दावी गरे । उनले संविधान बनाउनेलाई बढी माया हुने भन्दै कार्यान्वयनको बाहनामा केपी ओली नेतृत्वको सरकारले संविधानको मर्म र भावना कुल्चदै गएको आरेप पनि लगाए । मिडिया काउन्सील देखि हरेक क्षेत्रमा सरकारले अनावस्यक हस्तक्षेप गरेर संविधानले दिएका अधिकार खोस्ने काम गरेको पनि टिप्पणी गरे ।
कार्यक्रममा पूर्व मन्त्री चम्पा खण्डका, पार्टी सभापति दिपेन्द्रबहादुर थापा, महासमिति सदस्य नरबहादुर पुन, सिंहबहादुर राना, क्षेत्रीय सभापति द्रोण कुँवर, जीत शेरचन, सागर छन्त्याल र सोमबहादुर पौवी लगायतले बोलेका थिए । कार्यक्रम अन्र्तगत घरदैलो, संगठन बिस्तार र पार्टीका जनवर्गिय संगठनहरुको भेटघाट कार्यक्रम समेत रहेको बुर्तिवाङबाट भण्डारीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले बताए ।





