शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरकारले गुठी बिघेयक फिर्ता लियो

सरकारले गुठी बिघेयक फिर्ता लियो


  • Dhorpatan News
  • असार ४ २०७६, बुधबार

पोखरा, ४ असार – गुठियारको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि साथ दिएपछि अन्ततः सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार मात्रै ७७ जिल्लाकै कांग्रेस सभापतिहरुले गुठी विधेयक फिर्ता लिन विज्ञप्तीसमेत जारी गरेका थिए भने संसद समेत सोही कारणले अवरुद्ध बन्न पुगेको थियो ।
गुठी विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी फिर्ता लिएपनि भित्री मन्त्रणा भने प्रधानमन्त्री केपी शर्मा ओलीकै थियो । युरोप भ्रमणपछि विमानस्थलमै गलेका ओलीले बालुवाटारबाट त्यो कुरामात्र खुलासा गरेनन, आफू चौतर्फी दबाबमा परेको भन्दै आफ्नै समकक्षी अध्यक्षलाई व्यंग्यसमेत गर्न भ्याए ।
व्यंग्यवाणमा कुशल देखिएका ओली मंगलबार निरिह देखिन्थे । पत्रकार सम्मेलनमा उनले सकेसम्म आफूमाथि लागेका आारोपको प्रतिवाद गर्न खोजे तर, आफ्नै पार्टीका समकक्षीको मनमा मल्हम लगाउने प्रयत्न गरेनन् । उनी सत्ता गुठीकै कारणले गुम्छ कि भन्ने भ्रममा त थिए, तर संस्कृतिप्रति जवाफदेही देखिएनन् ।
सांस्कृतिक आन्दोलनलाई उनले काठमाण्डौमा केन्द्रिकृत गर्ने प्रयत्न गरे । पार्टीभित्रैका मान्छेलाई लाक्षणिक प्रत्युत्तर दिए र आफ्नो सत्ताको बचाउ गरे ।
ओलीको पत्रकार सम्मेलनको केहि बेरमै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी गुठी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । सञ्चारमाध्यमबाटै विधेयक फिर्ता लिएको अभिव्यक्ति दिएतापनि ओली र मन्त्री अर्यालबिचको छलफलपछि नै सरकार विधेयक फिर्ता लिने निर्णयमा पुगेको हो ।
गुठी विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएकाले विधेयक फिर्ता लिने निर्णयमा पुगेको मन्त्री अर्यालले जानकारी दिइन् । गुठी विधेयक राष्ट्रियसभामा दर्ता भइसकेको थियो ।
छलफलमा सहभागी अधिकांश सांसद तथा जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रिपरिष बैठकमा गुठी विधेयकबारे छलफल गरेर निर्णयमा पुग्ने जानकारी गराएका थिए ।
यस्तै, सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने बताए ।
गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने बताए । उनले भने, ‘गुठी अक्षयकोष जस्तै हो माँस्न खोजियो ।’ हजारौं वर्ष देखि चलिआएको संस्कृति माँस्ने चलखेल भइरहेकाले जनता स्वतस्फूर्त सडकमा उत्रिएको बताए । नेपालको इतिहासमा गैर राजनीतिक मुद्यामा यति ठूलो आन्दोलन नउठेको भन्दै गुठीसम्बन्धि विधेयक जनविरोधी भएकाले जनता उठेको बताए ।
यता, नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताएका छन् ।
काठमाडौं बाहिर र भित्रको गुठी फरक भएकाले यही विधेयकले समेट्न नसक्ने बताए । फरक तरिकाले गुठीको समस्या सुल्झाउनुपर्नेमा जोड दिए । सरकारले गुठीबारे उठेको मागको यथोचित् सम्बोधन गर्नुपर्नेमा जोड दिए । गुठीको जग्गा व्यक्तिको नाममा र्पुयाउने विधेयक विगतमा नेपाली काँग्रेसले ल्याएको भन्दै अहिले गुठीको पक्षमा काँग्रेस देखिनु लाजमर्दो भएको बताए । उनले भने,‘हिजो गुठीको जग्गा व्यक्तिको नाममा र्पुयाउनेहरु आज गुठीको संरक्षक बन्न खोजेका छन् ।’
नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले सरकार भूमाफियाबाट प्रभावित भएर गुठी विधेयक ल्याएको आरोप लगाए । गुठीको जग्गा कब्जामा लिन चलखेल भइआएकोमा सरकार सहयोगी बनेको बताए । सरकारले तत्काल गुठी विधेयक फिर्ता नलिए गम्भीर अवस्था आउने बताए । उनले भने, ‘भूमाफियालाई फाइदा पुग्ने विधेयक तत्काल फिर्ता लिएमा सरकारको कल्याण हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->