गोरखा,८ असार – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले गोरखा २ बाट चुनाव जितेका बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन्। गएको चुनावमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनको सहयोगमा गोरखा २ मा नयाँ शक्तिबाट उमेद्वार रहेका भट्टराईले कांग्रेसकै भोटबाट चुनाव जितेको दाबी गर्दै थापाले अहिले भट्टराईले कांग्रेसलाई गाली गर्दै हिडेकोमा असन्तुष्टि जनाए। भट्टराईलाई जिताउन कांग्रेसले गरेको सहयोगलाई उनले चुनावी भुल भनेका छन्। भुलको प्रायश्चित गर्दै कांग्रेसले क्षमापूजा गर्ने उनले बताए। ‘भट्टराईलाई जिताएर गल्ती गरियो, प्रायश्चित गर्दै क्षमा पूजा गर्छौ,’ थापाले भने। गोरखा २ मा आफ्नै पार्टीबाट उमेद्वार नबनाएर गल्ती भएकोले पार्टीले यसबारे गम्भीर समीक्षा गर्ने थापाले बताए। भट्टराईको गृहनगर पालुङटार नगरपालिकामा शनिबार कांग्रेस पालुङटार नगर कार्यसमितिको पहिलो अधिवेशन उद्घाटन गर्दै उनले भने, ‘कांग्रेसकै भोट पाएर चुनाव जितेको बर्षदिन नहुँदै कांग्रेसलाई संग्रहालयमा राख्नुपर्छ भन्ने? अब आउने चुनावमा हिसावकिताव गरिन्छ।’कांग्रेसप्रति कृतज्ञ भएर व्यवहार गर्नुपर्नेमा भट्टराईले उल्टो गाली गरेको थापाको भनाइ छ। ‘बाबुराम जत्तिको नेता संसदमा चाहिन्छ भनेरै मलगायत नेताले तपाईंहरुसँग हात जोडेर भोट मागियो,’ थापाले भने, ‘चुनाव जितेपछि हिजो भोट दिएर जिताउने कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने? धेरै तीतो नबोलौं, फेरि चुनाव आउँछ। त्यतिवेला यहाँ बाबुरामलाई बोलाऔं। हिसावकिताव गरौं। अनि क्षमा पूजा गरेर यहाँबाट कांग्रेसले पठाइदिनेछ।’





