पोखरा,१९ असार – नेपाली कांग्रेसले कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति तीव्र असन्तुष्टी प्रकट गर्दै सो निर्णय खारेजीको माग गरेको छ । गाउँपालिकाले हाल याङ्जाकोटको झ्यालीपोखरीमा कायम गरिएको केन्द्रलाई साविकमा भएको ठाउँभन्दा वडा नम्बर –३ कै देउराली टोलमा सार्ने निर्णय गरेको थियो । वडाको केन्द्रमा रहेको ठाउँबाट अन्यन्त्र सारेर राजनीतिक रुपले नेकपाको सरकारले कांग्रेसलाई निषेध गर्न खोजेको नेपाली कांग्रेस मादी गाउँपालिका संयोजक देवीजंग गुरुङले बताए । गएको ९ र १० गते बसेको कार्यपालिकाको बैठकले यो निर्णय गरेको थियो ।
गुरुङको अध्यक्षतामा बुधबार बसेको बैठकले गाउँपालिकाको एकलौटी निर्णय खारेजीको माग गर्दै सबैलाई पायक पर्ने मादी करिडोरमा केन्द्र राख्न समेत सुझाव दिएको छ ।
‘एउटै वडाको एक कुनाबाट केन्द्र किन सार्नु प¥यो’, कांग्रेस नेता गुरुङले भने,‘ त्यसो हो भने सबैलाई पायक पर्ने ठाउँमा किन नसार्ने ?’
मादी गाउँपालिकाले नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिहरुले राखेको संशोधन प्रस्तावमा छलफल नै नगरि बहुमतको बलमा गाउँपालिकाको नेतृत्व अगाडि बढेको आरोप लगाउँदै कांग्रेसले आउँदो शुक्रबार आयोजना हुने गाउँपालिकासभा तथा शनिबारको घोषणासभा बहिष्कार गर्ने घोषणा समेत गरेको छ ।
मादी गाउँपालिकाका प्रतिपक्षी दलका नेता यमबहादुर गुरुङ र मादी गाउँपालिकाको नेपाली कांग्रेसका सचिव भानु ढकालद्धारा हस्ताक्षरित विज्ञप्तिमा शनिबार आयोजना हुने घोषणासभामा आउने प्रमुख अतिथिलाई कालोभण्डा देखाउने योजना समेत सार्वजनिक गरिएको छ । विज्ञप्तिमा गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङद्धारा गरिएका निर्णयहरु कार्यान्वयमा नआएको, गाउँपालिकाको नेतृत्व प्रचारबाजीमा रमाएको, बितरणमुखी बजेट निर्माण गरेको ,दोहोरो तलब÷भत्ता लिएकोलगायतका आरोप पनि लगाइएका छन् । यता, मोदी गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिका, प्रदेश र केन्द्र सरकारबाट सञ्चालित विभिन्न पूर्वाधार निर्माणका योजना तथा कार्यलयबाट प्रवाह हुने सेवाका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले योजना फरफारक गर्ने प्रक्रिया झन्झटिलो भएको, प्राविधिकहरुको कमी भएकाले समयमा नै प्राविधिकको सहयोग नपाएको, भुकम्प पीडितले अहिलेसम्म पनि अनुदान पाउन नसकेको लगायतका गुनासा राखेका थिए ।सार्वजनिक सुनुवाई अगाडि गरिएको एक्जिट पोल(बहिर्गमन अभिमत), सेवाको सन्तुष्टी सम्बन्धि अभिमत र सेवा सम्बन्धि अभिमत संकलन गरी प्रतिवेदन पेश गरिएको थियो ।प्रतिवेदनमा सेवाग्राहीले समग्रमा गाउँपालिकाको सेवा प्रवाहमा सन्तुष्टी जनाएपनि योजना माग गर्ने, मुल्याकंन गराउने तथा भुक्तानी लिने प्रक्रिया भने झन्झटिलो रहेको बताएका थिए ।गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले नागरिकका गुनासा र सुझावलाई आफूहरुले मनन गर्दै गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधालाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए ।





