काठमाडौं, २२ असार- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक दस्तावेजको काम पूर्ण रुपमा टुंगिएको बताएका छन् । आइतबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आज बिहान दुई अध्यक्ष बसेर प्रतिवेदनको सम्पूर्ण काम टुंग्याएको बताएका हुन् । उनले भने, ‘आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र मेरो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदनको काम टुंग्याइएको छ र त्यो भोलि प्रकाशनमा जाँदै छ । पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ।’अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन छापिएर कार्यकर्ताका हातमा पुगेपछि कार्यकर्ता आफैँले आधिकारिक विचारबारे जज गर्ने बताए। पार्टीको आगामी महाधिवेशन एकताका र सहमतिका आधारमा गर्ने गरी राजनीतिक प्रतिवेदन आएको उनको भनाइ थियो।





