काठमाडौँ,२३ असार – नेकपाभित्र केही समयदेखि चर्किएको वैचारिक कार्यदिशाको विवाद तत्काललाई साम्य भएको छ । पार्टी एकताकै क्रममा सहमति भएको तत्कालको वैचारिक कार्यदिशा ‘जनताको जनवाद हुनेछ’ भन्ने विषयलाई राजनीतिक प्रतिवेदनमा राख्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमत भएका छन् । उनीहरूबीच बालुवाटारमा आइतबार भएको छलफलपछि पुरानै सहमतिकायम राखेर प्रतिवेदन प्रकाशन गर्ने निर्णय भएकोहो । अध्यक्ष दाहालले सोमबार प्रतिवेदन प्रकाशनमा लैजाने जानकारी दिए ।
‘एक वर्षदेखि सम्पूर्ण सहमति भए पनि प्रकाशनमा जान नसकेको प्रतिवेदन अब प्रकाशनमा जाँदै छ,’ छलफलपछि राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने । नेकपाको राजनीतिक प्रतिवेदनमा तत्कालीन एमालेले अघि सार्दै आएको ‘जनताको बहुदलीय जनवाद’ राख्नुपर्ने प्रस्ताव अध्यक्ष ओलीले नै अघि सारेपछि पार्टीभित्रको पूर्वएमाले र पूर्वमाओवादी धारबीच ध्रुवीकरण बढेको थियो ।
एकताको प्रक्रिया पूरा नहुँदै सिद्धान्तको विवाद निम्तिएको थियो । यो विषयलाई ओलीले नै अघि सारेपछि पूर्वमाओवादीपक्ष निकै चिढिएको थियो । एकता प्रक्रियामाथि नै समस्या खडा हुन थालेपछि गत साता दुई अध्यक्ष मिलेर अघि बढ्ने र विगतको सहमतिलाई सबैले मान्यता दिने समझदारी बनेको थियो ।
आइतबारको बैठकले प्रतिवेदनको भाषा सम्पादन गरी प्रकाशनमा लैजाने निर्णय गरेको हो । पार्टी एकतालगत्तै नेकपाले वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार गरेको थियो । नेपाल नेतृत्वको टोलीले सबै सहमति गरेर अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।
अध्यक्षहरूले प्रतिवेदन पढेर त्यसलाई आवश्यकताअनुसार सम्पादन गरी प्रकाशन गर्ने भनिएको थियो । तर सैद्धान्तिक विषयमा दुई पक्षबीच किचलो परेपछि प्रकाशनमा जान सकेको थिएन । राजनीतिक प्रतिवेदन नै नहुँदा नेकपाको राजनीतिक र वैचारिक कार्यदिशा के हो भन्ने नेता र कार्यकर्तालाई अन्योल थियो ।





