बागलुङ, ५ साउन – गलकोट क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य घुम्टेमा रहेका दुइवटा मन्दिर पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ र गलकोट नगरपालिकाको ८ लाख रुपैयाँ गरी २८ लाखमा दुइवटा मन्दिर पुन निर्माण गरिएको हो ।
घुम्टेमा सिद्ध बराह र भैरव मन्दिर छन् । समुन्द्री सतहदेखि झण्डै १० हजार तीनसय ९३ फिट अग्लो यो पहाडमा बर्षेनी बैसाख १ गते र बैसाख पूर्णिमामा मेला लाग्ने गर्छ । साथै घुम्टे पर्यटन बिकास केन्द्रको अगुवाईमा यहाँ लालीगुराँस महोत्सव पनि गरिंदै आइएको छ ।
घुम्टे पर्यटन बिकास केन्द्र अगुवाईमा यसपटक दुइवटा मन्दिरहरु पुनः निर्माण गरिएको मंचका उपाध्यक्ष राजबहादुर थापाले बताए । धार्मिक आस्था र घुम्ने उद्धेश्यले जानेहरुका लागि यो आर्कषक गन्तव्य हो । यहाँ पुग्न दुइवटा बाटो छन् । पाण्डवखानीको बाटो जाँदा वा हरिचौरको बाटो जताबाट गएपछि ५ घण्टा सम्म हिडेर मात्र पुगिने भएकोले मन्दिर प्रति धेरैको आस्था पनि जोडिएको छ । यहाँ पुगेर पूजा गर्दा आँटेताकेको पुग्ने विश्वास छ । यहाँ नजिकै दुइवटा सत्तल पनि छन् । ती सत्तलमा मेला लाग्दा पुगेका मानिसहरु बस्ने गर्छन् । पुननिर्माण पछि दुवै मन्दिर आर्कषक देखिएका छन् । गत बैसाखमा योजना सम्झौता गरेर दुइ महिना भित्रै मन्दिर निर्माण गरिएको अध्यक्ष झंकबहादुर बस्नेतले बताए ।





