बागलुङ, ६ साउन – बागलुङको महत्वपुर्ण पर्यटकीय गन्तव्य घुम्टे जोडन पर्यटन पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिका ७ मल्ममा डेढ किलोमिटर पदमार्ग निर्माण भएको हो । दरमखोलाको भीमसेन ढुङगा देखि आंगाखेत, सिरबारे, मल्मडाडा भल्साङ राम्चेढुङगा, अजिराखर्क, तुलसी मैरा, सानो घुम्टे हुॅदै घुम्टे सम्म उक्त पर्यटन पदमार्ग निर्माण गर्ने लक्ष्य अनुरु पहिलो चरणमा निर्माण कार्य सम्पन्न भएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड क का अध्यक्ष रुद्र केसीले जानकारी दिए। पर्यटनको सम्भावनै सम्भावना रहेको घुम्टे लेकमा सहज आवागमनको लागि पदमार्ग कार्यलाई तिव्रता दिईएको अध्यक्ष केसीले बताए।
गण्डकी प्रदेश सरकारको २० लाख सहयोगमा पदमार्गको पहिलो चरणको काम सम्पन्न गरिएको हो । ढुङगाको सिडी सहितको पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्टे पुग्न सहजता प्रदान गर्न योजनालाई अगाडी बढाईएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड ख का अध्यक्ष राम बहादुर विश्वकर्माले जानकारी दिए। पञ्चे वर्षे योजना निर्माण गरेर बाँकी कामलाई तदारुकताका साथ अगाडी बढाईने अध्यक्ष विश्वकर्माले बताए ।
अहिले पहिलो चरणमा मध्यपहाडी लोकमार्गको आंगाखेत देखि तल्लो सिरबारेसम्म र अजिराखर्क देखि तुलसी मैरासम्म झण्डै डेढ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । यो पदमार्ग डांडाबाट निर्माण गर्न लागिएकोले यसको छुट्टै महत्व रहने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । पदमार्ग निर्माण भएपछि यात्रा अवधिभरमनोरम दृश्य हिम श्रृङखलाहरु, वन जंगल बस्तीको दृश्यावलोकन संगै पर्यटकले आनन्द लिन सक्ने वडा अध्यक्ष थापाको भनाई छ । पदमार्ग निर्माण पश्चात मध्यपहाडी लोकमार्गबाट घुम्टेसम्म झण्डै ३ घण्टाको पैदल यात्रामा पुग्न सकिने छ । गण्डकी प्रदेश सरकार, गलकोट नगरपालिका र ताराखोला गाउॅपालिकाले घुम्टेमा पर्यटन विकासको निमित्त विकास निर्माणका पुर्वाधारहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छन ।
घुम्टेमा विभिन्न प्रजातीका लालीगुॅरास, जडीबुटी, चराचुरुङगी, जनावर आदी पाईन्छन । घुम्टेबाट नेपालका विभिन्न सहरहरु, हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । प्रकृतिको मनोरम आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्टे जाने गर्दछन । घुम्टेमा प्रसिद्व सिद्व भैरवको मन्दिर समेत रहेको छ ।





