शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कसैलाई जिम्मेवारीको दोहोरो भारी, कसैलाई गफ चुट्ने चौतारी !

कसैलाई जिम्मेवारीको दोहोरो भारी, कसैलाई गफ चुट्ने चौतारी !

नेकपा तल्लो तह एकिकरणको असर


  • Dhorpatan News
  • साउन ७ २०७६, मंगलबार

पोखरा, ७ साउन –  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले तल्लो तहको एकिकरण प्रक्रियाअन्तर्गत जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने प्रक्रियाप्रति केही नेताहरुले असन्तुष्टी जनाएका छन् ।
जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने क्रममा पूर्व इन्चार्ज र सहइन्चार्जलाई नै त्यो जिम्मेवारी दिने निर्णयसँगै केही नेताहरुलाई दोहोरो जिम्मेवारी र केहीले कामै नपाएपछि पार्टीपंक्तिमा असन्तुष्टी देखिएको हो । पार्टीले इन्चार्ज र सहइन्चार्ज केन्द्रीय सदस्यलाई पनि दिन सकिने मापडण्ड बनाएको थियो । यही मापडण्ड अनुसार गण्डकी प्रदेशका भौतिक योजना तथा निर्माणमन्त्री रामशरण बस्नेत मनाङको इन्चार्ज बनेका छन् । उनी गण्डकी सरकारका प्रवक्ता समेत हुन् । विकासे मन्त्रालय पनि सम्हालेका उनी व्यस्त छन् । गृह जिल्ला गोर्खा भएका उनको लागि मनाङ अपायक ठाउँ हो । पोखरा बस्ने उनले मनाङको इन्चार्जको भूमिका कसरी निभाउने ? ढोरपाटन दैनिकले यही प्रश्न गर्दा उनले भने,‘म यहाँभन्दा अगाडि मनाङ र गोर्खाको इन्चार्ज थिएँ पार्टीले पूर्वलाई बनाउने भनेपछि स्वभाविक रुपले म परेँ, कार्यकारीको रुपमा काम अध्यक्ष र सचिवले नै गर्छन्, जिल्ला कमिटीको बैठक बसाउने र निर्देशन दिने काम मात्रै भएकोले खासै असर गर्दैन ।’ उनले त्यसो भने पनि अहिले कसैले दोहोरो जिम्मेवारी पाउने र केही नेताहरुले कामै नपाउने अवस्था आएकोमा पूर्वमाओवादी र एमाले दुबैतिरका नेता खुसी छैनन् ।
एमालेहुँदा जिल्ला उपाध्यक्षको भूमिका निभाएका बागलुङका कृष्ण पाठक अहिले नेकपा जिल्ला सचिवलाय सदस्य छन् । पार्टीमा उदीयमान नेताको रुपमा हेरिएका उनी अहिले कामविहीन अवस्थामै छन् । पहिलो कुरा त तल्लो तहमा संगठन नै क्रियाशिल छैन, दोस्रो कुरा जिम्मेवारी नै छैन । द्ुई पार्टी एकता प्रक्रियामा अपनाइएको समझदारी ठीक भए पनि अहिलेको अवस्था लामो समयसम्म राख्न नहुनेमा उनको जोड रहेको छ ।
‘आन्तरिक जीवनमा एकताको अभियानको कुरा हो, दुई बृहत पार्टी एकहुँदा कम्तिमा पनि एउटा विधिबाट अगाडि बढौँ भन्ने समझदारी गर्नुभयो, यसोगर्दा दोहोरो तेहोरो जिम्मेवारी पर्न गएको छ’, उनले भने,‘ तर दोहोरो जिम्मेवारीले पार्टी निर्माण प्रक्रियामा असर गर्छ । मन्त्री र सांसद भएकोले जिल्ला हाँक्न व्यवधान गर्छ, विधिबाट भएकोले मान्नै पर्ने कुरा छ ।’
उनको भनाईसँग सहमत हुने नेता÷कार्यकर्ताको पंक्ति नेकपामा ठूलो छ । लमजुङका एक नेताले पनि सहमतिको नाममा दिइएको दोहोरो जिम्मेवारीले पार्टी निर्माण प्रक्रियामै असर पु¥याउने धारणा राखे । ‘अहिले केन्द्रदेखि स्थानीय तहसम्म सरकारले राम्रो काम गर्न सकेन भन्ने जनगुनासो छ’, पूर्वजनप्रतिनिसमेत रहेका उनले भने,‘ जनताको काम गर्ने कि पार्टीको काम गर्ने भन्ने भयो भने झन समस्या हुन्छ ।’ उनले त्यसो भनिरहँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पनि पार्टी र सरकार दुबैको नेतृत्वमा छन् । यस्तो दोहोरो जिम्मेवारी पछिल्लो समय पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पनि पाएका छन् । पोखरा महानगरपालिकाले गएको आर्थिक वर्षमा खासै उल्लेख्य काम गर्न नसकेको जनगुनासो छ । ‘मेयरसा’बसँग जति अपेक्षा थियो, त्यति उहाँबाट भएन’, तत्कालीन एमालेका एक जिल्लास्तरीय नेताले भने,‘ अब दोहोरो जिम्मेवारी कसरी निभाउनुहुन्छ समयले देखाउला ।’
दोहोरो जिम्मेवारीलाई धेरै लामो समयसम्म कामय राख्न नहुनेमा जोड दिने कार्यकर्ताको संख्या पनि नेकपामा ठूलो रहेको छ । ‘समयमै अधिवेशन भयो भने असर गर्दैन् । एकवर्ष भित्र नयाँ कमिटी निर्माण गर्ने कुरा भएको हो’, नेता कृष्ण पाठकले भने,‘ भदौ असोजमै चुनाव सम्भव नहोला । लामो समय तथर्दवाद भयो भने यसले पार्टीलाई नै हानी गर्छ ।’ अहिले जिम्मेवारी दिने क्रममा केही नेताहरुलाई भने न्याय भएको छ । कास्कीकै इन्चार्जका जिम्मेवारी पाएका राजकाजी गुरुङ यतिबेला संगठनकै काममा मात्र लाग्ने अवस्थामा छन् । प्रदेशसभा चुनाव हारेपछि र पार्टी एकिकरण प्रक्रिया लम्बिँदैगर्दा उनी कामविहीन जस्तो देखिएका थिए ।
यता, बागलुङमा इन्चार्ज तोकिएकी बलावती शर्मा केही समययता काठमाण्डौं थिइन् । सहइन्चार्ज मनाकुमारी केसी समानुपातिक सांसद हुन् । उनी पनि दोहोरो जिम्मेवारी पाउने नेतामा पर्छिन् । पर्वत इन्चार्ज गुप्तबहादुर हमाल र श्रीमाया थकाली दुबैको हकमा यो जिम्मेवारी सही नै होला तर स्याङ्जाको हकमा भने बहालवाला मन्त्री नै रहेकी पद्यमा अर्यालको व्यस्तताले असर पार्ने नेकपाकै कार्यकर्ता बताउँछन् । गण्डकीका गृहमन्त्री हरिबहादुर चुमान, सभासद आशा कोइराला,लमजुङ इन्चार्थ मायानाथ अधिकारीलगायतले पनि दोहोरो जिम्मेवारी पाएका छन् ।
दोहोरो जिम्मेवारी विशेष परिस्थितिको उपज भएको र त्यसलाई कुशलतापूर्वक निभाउन सके व्यक्तिलाई फाइदा हुने बताउँदै कामविहीन एक नेताले भने,‘ नत्र कसैले काम नपाउने र कसैले कामै नगर्ने अवस्था आयो भने यसले पार्टीलाई झन कमजोर बनाउँछ ।’ उनले पनि बेलैमा अधिवेशन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार अहिलेको मापडण्ण्डले केही उर्जावान, संगठन निर्माणमा पोख्त तथा निष्ठावान नेताहरु कामविहीन बनेको गुनासो पनि गर्न भ्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->