पोखरा,८ साउन – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २१ फेदीपाटनस्थित पुष्पलाल अध्ययन प्रतिष्ठान परिसरमा निर्मित पुष्पलालको अर्धकदको शालिकको मंगलबार अनावरण गर्दै उनले पुष्पलालले अघि सारेका विचारकै जगमा नेपाली कम्युनिष्ट आन्दोलन वर्तमानसम्म आइपुगेको बताए ।
नेपाली कम्यूनिष्ट आन्दोलनलाई बैचारिक नेतृत्व दिएर पुष्पलालले अतुलनीय योगदान गर्नुभएको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले तीनै विचार र सिद्धान्तलाई आत्मसात गर्न सके उहाँ प्रति सच्चा श्रद्धान्जली हुने धारणा राखे । उनले अवसरवादी सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै अघि बढनुपर्ने बताए । पुष्पलालकै स्मृतिमा आयोजित अर्को एक कार्यक्रममा बोल्दै मुख्यमन्त्रीगुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको दावी गरेका थिए ।
पुष्पलालको ४१ औं स्मृति दिवसको अवसरमा पोखरा ७ मासवारस्थित पुष्पलालको शालिकमा माल्यार्पण गर्दै उनले समाजवाद उन्मुख देशलाई विकास र समृद्धिको मार्गमा लैजाने गहन जिम्मेवारीलाई वहन गर्नु वर्तमानको आवश्यकता रहेको बताएका थिए ।
अघिल्लो कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रतिष्ठानको हातामा निर्माण गरिएको अर्थकदको शालिकको पनि अनावरण गरेका थिए । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपाली समाजको रुपान्तरणमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिष्ठानलाई कम्युनिष्ट पार्टीको अध्ययन अनुसन्धानको थलोको रुपमामा विकास गरिनु पर्नेमा जोड दिए ।
पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य खगराज अधिकारीले विभिन्न संघसंस्था र व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको प्रतिष्ठानको तीनतल्ले पक्की भवन निर्माण भई रहेको बताउँदै नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलाललाई नजिकबाट चिन्न र वुझन सकिने गरी विकास गरिने जनाए ।
नेकपा कास्की अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले मुलुकमा प्राप्त उपलव्धिको रक्षा गर्दै जनताको वृहत हितमा उपयोग गरिनु आजको आवश्यकता भएको धारणा राखे ।नेकपा केन्द्रीय सदस्य एवम् पुष्पलाल अध्ययन प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष भीम कार्कीले प्रतिष्ठानले नेपालको कम्युनिष्ट आन्दोलन संगठित र सशक्त बनाउन कोसे ढुंङगा सावित हुने विश्वास व्यक्त गरे ।





