पोखरा, ८ साउन – शिक्षकलाई पिता समान मानिन्छ । तर, कली लाग्यो भनेजस्तै भएको छ । उदयपुरको एक बोर्डिङ स्कूलमा पढाउने शिक्षकले आफ्नै विद्यार्थीलाई बन्धक बनाई बलात्कार गरेका छन् । ती शिक्षकले १४ वर्षीया नावालिकालाई ललाई फकाई पोखरा ल्याएर ८ दिनसम्म बन्धक बनाई बलात्कार गरेको सार्वजनिक भएको हो ।
घटना विवरण अनुसार मोरङ जिल्लाको विराटनगर घर भई हाल उदयपुरको मेरीगोल्ड विद्यालयमा पढाउँदै आएका २८ वर्षीय राकेशकुमार कानोडिया नाम भएका शिक्षकले ८ दिनअघि स्कूलकै एक छात्रालाई ललाई फकाई पोखरा ल्याएका थिए । पोखरा ल्याएपछि उनले छात्रालाई लेकसाइड डिहीकोपाटनमा रहेको द कन्ट्रीयार्ड नामक होटलमा राखे । होटलको कोठा लिएपछि उनले नाबालिक विद्यार्थीले प्रयोग गर्ने मोवाइलको सिम खोसे र लगातार कोठामा बन्धक बनाएर बलात्कार गरे ।
कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार कनौडियाले बालिकालाई परिवारसँग सम्पर्क गर्न समेत दिएनन् । छोरी घरबाट हराएपछि अभिभावकहरुले प्रहरी गुहारे । खोजतलासको क्रममा कास्की प्रहरीले उनलाई बुधबार होटलबाट पक्राउ गरेको हो । कनौडियालाई पक्राउपछि नाबालिका करणी तथा शरीरबन्धकको अभियोगमा मुद्दा लगाउने तयारी भएको उनले बताए । शिक्षक कानोडियाले ती विद्यार्थीलाई शुरुमा फकाएर नै घुम्न जान राजी गराएको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नाबालिकासँग सहमतिमै शारिरीक सम्पर्क राखे पनि बलात्कार मानिन्छ । कोठमा बन्धक बनाएको अभियोग पनि उनीमाथि रहेको छ ।





