पोखरा, ९ साउन – राष्ट्रिय सहकारी बैंक लिमिटेडको गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक समिक्षा तथा योजना तयारी गोष्ठी बिहीबारदेखि गण्डकी प्रदेशको पोखरामा शुरु भएको छ । बैंकले विगतमा गरेका प्रभावकारी कार्यहरुको प्रवद्र्धनका साथै थप प्रभावकारी कार्य गर्नका लागि योजना निर्माण गर्ने उदेश्यका साथ गोष्ठी आयोजना गरिएको बैंकले जनाएको छ । २ दिनसम्म सञ्चालन हुने गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले गरिन ।
सो अवसरमा बोल्दै उनले सहकारीमार्फत आर्थिक समृद्धिको अभियान सफल पार्नका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन। सहकारी क्षेत्रमा थुप्रै अवसरहरु भए पनि त्यसलाई प्रभावकारी रुपमा आम जनताका बीचमा पु¥याउन नसकिएको भन्दै उहाँले प्रदेश, स्थानीय तह र अन्य सरोकारवालाहरुबीच समन्वय गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक भीम गुरुङ, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण अधिकारी, पोखरा महानगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकाल लगायतले सहकारीको समग्र विकासका लागि बैंकका कार्यक्रमहरु प्रभावकारी बन्दै गएको बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको पछिल्लो अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.को सञ्चालन र पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोष्ठीमा बैंकका ४४ वटै शाखाका प्रमुखहरु, विभागीय प्रमुखहरु सहित ६० जनाको सहभागिता रहेको छ ।





