पोखरा,१० साउन – यति एयरलाइन्सले पोखराबाट नेपालका पर्यटकीय सहरहरुमा नियमित उडान गर्ने भएको छ । पोखराबाट काठमाडौका लागि उडान भर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर (गोल्डेन ट्रयाङ्गल) मा थप उडान सुरु गर्ने घोषणा गरेको हो ।
एयरलाइन्सले पोखराबाट भैरहवाका लागि साउन १६ देखि र भदौ १५ देखि भरतपुरमा पनि नियमित उडान गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यतिले पोखराबाटै भदौ २९ देखि माउण्टेन फ्लाइट सुरु गर्ने पनि जनाएको छ । पोखराबाट नेपालगञ्जनका लागि चार्टर्ड फ्लाइट सेवा पनि दिइने कम्पनीका बिक्री प्रबन्धक सरल राणाले जानकारी दिए । पोखरा आएका पर्यटकलाई चितवन, लुम्बिनी जानका लागि यसअघि बुद्ध एयरले उडान भदै आएकोमा यतिले समेत सुविधा थपेपछि पर्यटकको लागि सहज हुने भएको छ ।
यतिले मात्र २० मिनेटमा उडानमार्फत पोखरा र भैरहवालाई जोडनेछ । यस्तै पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट पनि सुरु गर्ने भएको छ । जसमा पर्यटकले माछापुच्छे«, अन्नपूर्ण, धौलागिरि जस्ता हिमश्रृंखलाको अलौकिक दृश्यावलोकन गर्न सक्नेछन् ।
यस्तै, माउन्टेन फ्लाइटका लागि ८ हजार लाग्नेछ भने पोखरा पोखरा–भैरहवा उडानका लागि २ हजार ७ सय देखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ ।यस्तै पोखरा–भरतपुरका लागि २ हजार ५ सय देखि ३ हजार ८ सय रुपैयाँ लाग्ने कम्पनीका प्रवक्ता भीमराज राईले जनाए ।
नेपालकै सबैभन्दा ठूलो हवाइ सञ्जाल रहेको यति एयरलाइन्स दक्षिण एशियाकै पहिलो कार्बन–न्यूट्रल एयरलाइन्स भएको कम्पनीको दावी छ ।





