काठमाडौं, २० साउन – मौसमविदहरूले आगामी ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् । मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार, तराईका अधिकांश स्थानहरूमा अहिले मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थानहरूमा दिनको समयमा त अझै भारी वर्षा हुनसक्छ ।
महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार, तराईबाहेकका अन्य स्थानहरूमा पनि अहिले सामान्यदेखि पूर्ण बदली भइरहेको छ । यो क्रम दिउँसो पनि यथावत रहने छ । तर, रातिको समयमा पश्चिम भूभागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पश्चिम क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ । साउन २१ गते मंगलबार दिउँसोको समयमा सामान्यदेखि पूर्ण बदली रहे पनि रातको समयम धेरै स्थानमा वर्षा हुने बताइएको छ । मौसमविदका अनुसार मध्य र पश्चिमी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुनसक्छ । त्यस्तै, २२ गते बुधबार पनि पूर्व र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ ।
सतर्कता अपनाउन सुझाव
मौमस पूर्वानुमान महाशाखाले सोमबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– देशको केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ पर्ने तथा पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आइतबार रातिदेखि मनसुन सक्रिय भएकाले देशभर मौसमी गतिविधि बढेको हाे। आज (सोमबार) पनि वर्षा जारी रहने सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए। ‘खासगरी पश्चिम र पूर्वका तराई क्षेत्रमा बढी वर्षा हुने देखिन्छ,’ उनले भने, ‘साथै यी क्षेत्रका पहाडी भेगमा पनि आज वर्षा जारी रहने सम्भावना छ।’
पहाडी भेगमा पहिरो जाने तथा चुेर क्षेत्रबाट बहने खोलानालाको बहाव बढ्ने सम्भावना देखिएकाले सतर्कता अपनाउन वरिष्ठ माैसमविद् पाैडेलकाे सुझाव छ। यसैगरी काठमाडौं उपत्यकामा पनि रातिदेखि नै वर्षा भइरहेको छ। आज पनि यो क्रम जारी रहने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ। उनका अनुसार दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा आफ्नो स्थानबाट केही उत्तर नेपालतर्फ सरेको छ। यसले मनसुन पुनः सक्रिय भएको उनको भनाइ छ।
‘पूर्वतिर चाहिँ स्थानीय न्यून चापीय प्रणाली पनि विकास भएको छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘त्यतातिर त्यसले पनि वर्षा गराएको हो, साथै न्यून चापीय रेखाको प्रभाव पनि परेको हो।’ उनका अनुसार दिउँसो २/३ बजे केहीबेर वर्षा रोकिने सम्भावना छ। ‘अहिले खासगरी राति र बिहान उठ्नेबित्तिकै पानी पर्ने क्रम चलिरहेको छ,’ उनले भने। आगामी ३ दिन पूर्व र पश्चिम तराईमा देशका अन्य भागमा भन्दा बढी वर्षा हुने अनुमान महाशाखाले गरेको छ । पहाडी भेगका थोरै स्थानमा पनि भारी वर्षा हुनसक्छ। भारी वर्षाले तराई तथा पहाडका क्षेत्रलाई बाढी पहिरोको जोखिममा पार्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।





