बागलुङ, २१ साउन – शिक्षक सेवा आयोगले जिल्लाका प्राथमिक बिद्यालयको न्युनतम आवस्यकतालाई सम्बोधन गरेको छ । हालै उत्तीर्ण भएका शिक्षकलाई दरबन्दीमा पठाउने क्रम चलिरहेको छ । तर मावि तहका बिद्यालयमा अभाव भएका शिक्षकको लागि भने पदपूर्ति हुन सकेको छैन । मावि तहमा दरबन्दी अभाव हुँदा धेरै बिद्यालयको शिक्षामा असर परेको जनप्रतिनिधिहरुले गुनासो गरे । आन्तरिक श्रोतबाटै सबै शिक्षक राखेर चलाउन नसकिएपछि गुणस्तरमा पनि समस्या परेको उनीहरुले बताए ।
दरबन्दी अभावकै कारण माध्यामिक तहको शैक्षिक गुणस्तर खस्केको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘हामीले प्राथमिक तहमा प्रयास गरेका छौं, माबिका लागि दरबन्दी अभाव छ’ उनले भने, ‘केन्द्रीय अनुदान र दरबन्दी आएन भने हामी पछाडि पर्छौ ।’ ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाले प्राथमिक तहका लागि भने आन्तरिक श्रोतबाट पनि शिक्षक दरबन्दीको व्यवस्था गरेका छन् ।
ताराखोला गाउँपालिकाले दरबन्दी अभावमा शैक्षिक स्तर खस्केका विद्यालयमा दरवन्दी दिएको हो । ढोरपाटन नगरपालिकाले भने १ सय ६४ दरबन्दी थपेर बितरण पनि गरेको छ । शुन्य दरबन्दीको भरमा चलेका ताराखोलाका मालारानी आधारभूत विद्यालय, त्रिशुली प्रावि, दुर्गाभवानी मावि लगायतमा दरबन्दी दिएको घर्तीले बताए । गाउँपालिकामा रहेका अन्य धेरै विद्यालयमा पनि दरबन्दी अभाव छ । अर्गल माविमा २ जना मात्र दरबन्दीका शिक्षक छन् । त्यस्तै प्रजातन्त्र माविमा १ जना मात्र दरबन्दीका शिक्षक भएपछि पढाई प्रभावित थियो । ‘सरकारी दरबन्दी छैन भनेर हाम्रा बालबालिकाको भविष्य बिगार्न भएन’ घर्तीले भने, ‘आन्तरिक श्रोत परिचालन गरेर भएपनि शिक्षामा गुणस्तर बढाउनुपर्छ भन्ने हामीले योजना ल्याएका हौं ।’ बराहखोला आधारभूत र क्राक्राखोर आधारभूत विद्यालयमा पनि शुन्य दरबन्दी हुँदा अभिभावकले चन्दा उठाएर शिक्षक राखेका छन् ।
दरबन्दी पाएरपनि शिक्षक नगएपछि ढोरपाटन नगरपालिकामा धेरै विद्यालय शुन्य शिक्षकको भरमा चलेका थिए । १ करोड बजेट बिनियोजन गरेर शिक्षक दरबन्दी दिएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । यो बजेटबाट कक्षा १ देखि ३ सम्म चलेका विद्यालयलाई दुइ जना, १ देखि ५ सम्म चलेको लाई ३ जना शिक्षक दिईएको हो । निमावि तह संचालन भएको स्थानमा ३ र मावि तह चलेको विद्यालयमा ४ जनाको दरबन्दी दिइएको हो । २० वटा बाल बिकास केन्द्रका लागि पनि एक एक जना शिक्षक नियुक्ती भएका छन् । नगरभित्र ४४ वटा विद्यालय छन् । नगरप्रमुख देवकुमार नेपालीले कतिपय बालबालिकाको पढाई खर्च र अभिभावकका लागि नगदै समेत सहयोग गरेका छन् ।
ताराखोलाले गाउँपालिका भित्र निजी विद्यालय स्थापना गर्न नदिने अभियान समेत चलेको छ । ‘त्यसका लागि सामुदायिक बिद्यालयले गुणस्तर दिन सक्नुपर्छ भनेर लगानी बढाएका हौं’ घर्तीले भने, ‘सानो लगानीमा उपलब्धी बढी आउने काम गर्न सकिने उपायाको खोजी गरिरहेका छौं ।’ शुन्य दरबन्दी भएका बिद्यालयमा एकदुइ जना दक्ष शिक्षक राख्न सक्दा बालबालिकाको भविष्यलाई न्याय हुने उनले बताए । दरबन्दी पाएमा परीक्षाफल सुधार गर्न सकिने दुर्गा भवानी माविका प्रअ टेकबहादुर रोकाले बताए । ‘शिक्षण सिकाई पद्दती बदलेर बालबालिकालाई गुणस्तर शिक्षा दिने योजना ल्याएका छौं’ रोकाले भने, ‘व्ययभार घट्ने भएकोले अभिभावकले अन्य सेवा सुविधाका लागि लगानी गर्न तयार छन् ।’ निशुल्क शिक्षा भनेपनि बिद्यालय चलाउन अभिभावकको लगानी मात्र बिकल्प भएको उनले बताए ।





